अष्टकुमारी
स्मृति तेस्रो जिल्लास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर क्रिकेट
एकेडेमी (एमसीए) ले सोमबार जितेको छ । हेटौंडा जेसिजद्वारा सञ्चालित प्रतियोगिताको
फाइनलमा एमसीएले फ्लाइङ इगल क्रिकेट क्लबलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो
। उपाधिसँगै एमसीएले १५ हजार रुपैयाँ हात पार्यो । उपविजेता फ्लाइङ इगलले १० हजार
रुपैयाँमा चित्त बुझायो । टस जितेर पहिले ब्याटिङ गरेको एमसीएले निर्धारित ओभरमा ७
विकेट क्षतिमा १ सय ४३ रन जोडेको थियो । एमसीएका लागि समीर नेपालले २७ तथा साहिल कंसाकारले
२६ रन जोडेका थिए । फ्लाइङ इगलका अजय शर्मा र आत्मराम उपाध्यायले २/२ विकेट लिएका थिए
।
खेलको म्यान अफ द म्याच एमसीएका रविन गुरुङले ६ विकेट लिएपछि १ सय ४४ रनको लक्ष्य
पछ्याएको फ्लाइङ इगल १८ ओभर २ बलमा ८९ रनमा समेटियो । फ्लाइङ इगलका लागि गौरव खड्काले
३४ र सिद्धार्थ लामाले १५ रन जोडे । एमसीएका रवि साहले पनि २ विकेट लिए । प्रतियोगिताको
अनुशासित टिमको उपाधि पाएको एमसीसीले नगद १० हजार रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगिताभर
६६ रन र ८ विकेट लिएका एमसीएका उदित श्रेष्ठले म्यान अफ द सिरिजको उपाधि हात पारे ।
९ विकेट लिएका एमसीसीका निरज श्रेष्ठ उत्कृष्ट बलर तथा १४८ रन जोडेका एमसीसीकै अनिल
साह उत्कृष्ट ब्याट्सम्यान भए । मंसिर ८ गतेदेखि हेटौंडा उपमहानगरपालिका ४ स्थित लोकतान्त्रिक
चौरको खेलमैदानमा भएको प्रतियोगितामा सात टिमले भाग लिएका थिए ।
Wednesday, December 2, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...