एजेन्सी
- अस्ट्रेलियन फास्ट बलर मिचेल स्टार्कले चोटका कारण आसन्न टी–२० विश्वकप क्रिकेट प्रतियोगिता
गुमाउने भएका छन् । बक्सिङ डेमा न्युजिल्यान्डविरुद्धको टेस्टमा उनी चोटग्रस्त
भएका थिए । स्टार्कको बायाँ खुट्टाको हड्डी भाँचिएको छ । तत्कालै उनको दोस्रो शल्यक्रिया
गर्नुपर्ने अस्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ । गत वर्ष घरेलु मैदानमा अस्ट्रेलियाले
पाँचौँपटक एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि उचाल्दा स्टार्कले २२ विकेट
लिएका थिए । यसपटक भारतमा हुने टी–२० विश्वकपमा पनि अस्ट्रेलियाले उनीबाट ठूलो आशा
गरेको थियो । तर, विश्वकपसम्म उनी फिट नहुने पक्का भएकाले अस्ट्रेलियन बोर्ड दु:खी
बनेको छ ।
२५ वर्षीय फास्ट बलर स्टार्क मार्चको अन्त्यसम्म फिट हुने बोर्डको भनाइ छ
। विश्वकप गुमाउने पक्का भएपछि स्टार्क निराश देखिएका छन् । ‘यो अस्ट्रेलियन क्रिकेट
र मेरा लागि पनि नराम्रो समाचार हो,’ उनले भने, ‘सुरुको शल्यक्रिया राम्रो भएको थियो
।’ सिड्नी क्रिकेट मैदानमा स्टार्क बुधबार साथीहरूसँगै प्रशिक्षणमा देखिएका थिए । तर,
उनले अभ्यास गरेनन् । अस्ट्रेलियाले वेस्टइन्डिजविरुद्धको तेस्रो टेस्टका लागि सिड्नी
मैदानमा अभ्यास गरेको हो । स्टार्कले आफ्नो घुँडाको चोट बिस्तारै निको भइरहेको जनाए
। ‘मेरो एंकल लगभग निको भइसकेको छ, तर हड्डीको फेरि शल्यक्रिया गर्नुपर्ने छ,’ चोटग्रस्त
अवस्था सुनाउँदै उनले भने, ‘आउँदो केही दिनमा यसमा सुधार आउनेछ ।’ चोटकै कारण स्टार्कले
वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिज गुमाएका छन् । अब उनले भारतविरुद्धको एकदिवसीय र
टेस्ट सिरिज गुमाउने बोर्डले जनाएको छ । स्टार्कको चोट सम्बन्धमा इन्डियन प्रिमियर
लिगको रोयल च्यालेन्ज बेंग्लोरले चिन्ता देखाएको छ । अप्रिलमा नवौँ संस्करणको आइपिएल
सुरु हुनेछ । त्यस अवधिसम्म स्टार्क फिट नहुँदा बेंग्लोरले मुख्य स्ट्राइकरविना प्रतिस्पर्धा
गर्नुपर्ने हुन्छ । स्टार्कले आफू शतप्रतिशत फिट नहुँदासम्म क्रिकेट नखेल्ने बताएका
छन् । ‘जबसम्म म शतप्रतिशत फिट हुन्नँ, त्यसवेलासम्म खेल्दिनँ,’ उनले भने, ‘म कुनै
जोखिम उठाउन चाहँदिनँ ।’ उनले सन् २०१५ को सत्रमा उत्कृष्ट प्रदर्शन गरेको बताए ।
‘पछिल्लो १२ महिना विश्लेषण गर्दा मैले निकै राम्रो क्रिकेट खेलेको थिएँ,’ उनी भन्छन्,
‘अहिले ती क्षण सम्झँदा मिस गरिरहेको छु ।’
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...