राष्ट्रिय
खेलकुद परिषद्ले लामो कसरतपछि शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) को तदर्थ समिति गठन
गरेको छ । रमेश सिलवालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको परिषद्का सदस्यसचिव
केशवकुमार विष्टले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । ‘हामीले सिलवालको अध्यक्षतामा
१५ सदस्यीय क्यान तदर्थ समिति गठन गरेका छौँ,’ सदस्यसचिव विष्टले भने । तत्कालीन खेलकुदमन्त्री
पुरुषोत्तम पौडेलले विनयराज पाण्डेको अध्यक्षतमा गठन गरेको तदर्थ समितिमा सिलवाल महासचिव
थिए । सिलवाल गोल्डेनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । परिषद्ले राजनीतिज्ञ,
उद्योगपति, खेलकर्मी तथा विभिन्न पेसामा संलग्न व्यक्ति चयन गरी समिति बनाएको विष्टले
बताए । परिषद्ले गठन गरेको समितिलाई शीर्ष दलले स्वीकारेको उनले दाबी गरेका छन् ।
‘यो तदर्थ समितिलाई शीर्ष दलका नेताहरूले मानेका छन्, उनीहरूकै सल्लाहमा समिति गठन
भएको हो,’विष्टले भने । तदर्थ समिति गठन गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र खेलकुदमन्त्री सत्यनारायण
मण्डलसँग पनि छलफल भएको विष्टले जनाए । ‘हामीले भद्रगोल अवस्थामा रहेको क्यानलाई सही
बाटोमा ल्याउन प्रधानमन्त्री र खेलकुदमन्त्रीसँग पनि छलफल गरेका थियौँ,’ उनले भने ।परिषद्ले छनोट गरेका व्यक्तिमाथि कसैले आपत्ति नजनाएको उनको भनाइ छ । ‘विभिन्न क्षेत्रमा
लिस्ट पठायौँ र माग्यौँ, उहाँहरूले केही आपत्ति जनाउनुभएन, त्यसपछि मात्र तदर्थ समिति
गठन भएको हो,’ उनले भने ।सिलवालको अध्यक्षतामा क्यान तदर्थ समिति गठन भएपछि क्रिकेट
क्षेत्रमा थप विवाद उत्पन्न भएको छ । मुलुकमा अब चुतरबहादुर चन्द र सिलवालको अध्यक्षताका
दुई क्यान अस्तित्वमा रहेका छन् । गत २९ मंसिरमा क्यानको चुनावबाट चन्दको अध्यक्षतामा
कार्यसमिति बनेको थियो । त्यसबेला परिषद्ले आफ्नो स्वीकृतविना क्यानको चुनाव गर्न नपाउने
निर्देशन जारी भएको थियो । तर, चन्द समूहले परिषद्को निर्देशन र सल्लाह लत्याउँदै चुनाव गरेको थियो । यसै कारण
परिषद्ले चन्द अध्यक्ष रहेको क्यानलाई मान्यता दिएको छैन । निर्वाचित क्यानका महासचिव
अशोकनाथ प्याकुरेलले परिषद्को नयाँ निर्णयसँगै क्रिकेटलाई ६० वर्षअघिकै अवस्थामा पुर्याउन
लागेको आरोप लगाएका छन् । ‘६० वर्षसम्म क्रिकेट तदर्थवादमै चल्यो, चार वर्षअघि हामीले
चुनाव गर्दै विधिअनुसार क्यानलाई अग्रसर बनायौँ, तर आजको निर्णयसँगै क्यान फेरि पुरानै
अवस्थामा पुगेको छ,’ प्याकुरेलले भने । यता, तदर्थ समितिका महासचिव पवनकुमार अग्रवालले
तत्कालै केही योजना नबनाएको बताए । अग्रवाल सिनियर क्रिकेट टोलीका पूर्वकप्तान पनि
हुन् । सन् १९९६ मा नेपालले एसिसी ट्रफीमा भाग लिँदा अग्रवाल नै टोलीका कप्तान थिए
। महासचिव अग्रवालले भताभुंग रहेको क्यानलाई व्यवस्थित बनाउने जिम्मेवारी आएको बताए
। ‘हामी भताभुंग अवस्थामा रहेको क्यान मिलाउने प्रयास गर्छौं,’ अग्रवालले भने, ‘परिषद्को
निर्णयअनुसार नै काम गर्छौं ।’ निर्वाचित क्यानका महासचिव प्याकुरेलले आफूहरूले अदालतको
ढोका ढकढक्याउने जनाए । ‘परिषद्को यो कदम अवैधानिक हो, चुनावी प्रक्रियाअनुसार अगाडि
बढेको क्यान नै वैधानिक हो, फेरि वैधानिकता प्राप्त गर्न हामी अदालत जान्छौँ,’ परिषद्लाई
चेतावनी दिँदै उनले भने । तदर्थ समितिका उपाध्यक्षमा रवीन्द्र अधिकारी, शैलेश कर्माचार्य
र दीपक साउद रहेका छन् । टंक आङबुहाङ समूहमाथि अख्तियार र विशेष अदालतले छानबिन गरिरहँदा
साउदले कार्यबाहक अध्यक्षका रूपमा क्यान चलाएका थिए । यसैगरी, सचिव पूर्ण लामा छन्
। सदस्यमा भरत केसी, डा. हरिशंकर शाह, ऋतुसिंह वैद्य, दिवाकर पौडेल, निर्वाण चौधरी,
विनायक पोखरेल, सुरेशलाल श्रेष्ठ, रञ्जित तामाङ र एलबी क्षेत्री छन् । पौडेल बैंकर,
श्रेष्ठ कानुन व्यवसायी, वैद्य वैद्य अर्ननाइजेसन र चौधरी चौधरी समूहमा आबद्ध छन् ।
तदर्थ समितिमा तीन एमाओवादी, दुई कंग्रेसनिकट तथा बाँकी एमालेका छन् । यता, परिषद्का
प्रेस सल्लाहकार रोहित दाहालले तदर्थ समितिलाई तीन महिनाको अवधि दिएको जानकारी दिए
। तदर्थ समितिले तीन महिनाभित्र क्यानको समस्या समाधान गरी चुनावी प्रक्रियामा जानुपर्ने
दाहालले जनाए ।
समाधान गर्ने विश्वास
केशवकुमार विष्ट
सदस्यसचिव, राखेप
परिषद्ले
बनाएको क्यान तदर्थ समितिले क्रिकेटमा देखिएका विवाद समाधान गर्छ भन्ने विश्वास छ ।
हामीले लामो समय होमवर्क गर्दै समिति गठन गरेका हौँ । यसका लागि प्रधानमन्त्री, शीर्ष
दलका नेता तथा व्यवसायीसँग पनि छलफल गर्यौँ । सबैबाट सकारात्मक कुरा आएपछि मात्र तदर्थ
समिति गठन गरेका हौँ । अझ हामीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग पनि कुराकानी
गरेका छौँ । आइसिसीका पदाधिकारी पनि खुसी नै छन् । समितिमा सबै व्यक्तिलाई समेट्ने
प्रयास भएको छ । यो समितिलाई तीन महिनाभित्र विवाद समाधान गरी नयाँ चुनाव गर्न निर्देशन
दिइएको छ । हामीलाई खेलाडी, क्यानका कर्मचारी र दलबाट समर्थन प्राप्त छ । चन्द अध्यक्ष
रहेको क्यानका पदाधिकारी अदालत जाने सुनेको छु । मलाई विश्वास छ, अदालतले पनि हाम्रै
पक्षमा
फैसला गर्नेछ ।
६० वर्ष पछाडि धकेलियो
अशोकनाथ प्याकुरेल
निर्वाचित क्यान महासचिव
क्रिकेट
संघमा फेरि अस्थिरता छाएको छ । क्यान फेरि तदर्थवादमै फर्कियो । परिषद्ले नेपाल क्रिकेटलाई
६० वर्ष पछाडि लगेको छ । हामीले तदर्थवाद अन्त्य हुनुपर्छ भनी चार वर्षअघि निर्वाचन
गरेका थियौँ । त्यसवेला क्यान पनि निर्वाचन प्रक्रियाअनुसार चल्ने विश्वास थियो । नियमअनुसार
नै हामीले फेरि चुनाव गर्यौँ । तर, परिषद् विभिन्न बहाना बनाउँदै क्यान चुनाव बिथोल्ने
प्रयासमा लागिरह्यो । आजको निर्णयले परिषद्का सदस्यसचिवको नियत स्पष्ट भयो । यहाँ सरकार
र सदस्यसचिव परिवर्तन हुनासाथ क्यान पनि परिवर्तन गर्ने परिपाटी बनेको स्पष्ट हुन्छ
। अब हामी न्यायका लागि अदालत जान्छौँ । वास्तवमा आजको निर्णय मेरा लागि सरप्राइज थिएन,
यो एक दिन हुने नै थियो । उहाँहरूले अगाडि भन्दा पछाडिको बाटो रोज्नुभयो ।
हामी काम गर्न आएका
हौँ
पवन अग्रवाल
महासचिव, तदर्थ समिति
अहिले नै
कुनै कमेन्ट गर्न गाह्रो छ, तर परिषद्ले हामीलाई विशेष जिम्मेवारी दिएको छ । वास्तवमा
हामी काम गर्न आएका व्यक्ति हौँ । भर्खर बनेको हाम्रो समितिले योजना बनाएको छैन । विभिन्न
क्षेत्रबाट आएका व्यक्तिहरूको टिमले केही गर्नेछ । क्यानभित्रको अवस्था बुझ्न बाँकी
नै छ । बाहिरबाट हेर्दा क्यान भताभुंग नै छ । नराम्रो अवस्थामा रहेको क्यानलाई सुधार
गर्न बिस्तारै योजना बनाउनुपर्छ । तदर्थ समितिलाई धेरै चुनौती छ । फेरि हामीलाई तीन
महिनाभित्र समाधान गर्नु भनेको छ । त्यहीअनुसार अगाडि बढ्नुपर्छ । चुनाव गरेको कमिटी
पनि आफ्नो स्थानमा छ । हामीलाई सरकारले बनाएको हो । व्यक्तिविशेष वा एकल निर्णयले तदर्थ
समिति बनाइएको हो । नेपालको कानुनअनुसार चल्नु पनि पर्छ ।
समिति गठन गरेलगत्तै
विरोध
परिषद्ले
क्यान तदर्थ समिति गठन गरेलगत्तै क्रिकेटसँग आबद्ध क्लब र संघले विरोध जनाएका छन् ।
काठमाडांै जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले राजनीतिक हस्तक्षेप भएको जनाएका
छन् । ‘निर्वाचित संघ हँुदाहुँदै तदर्थवाद लागू गरी राजनीतिक हस्तक्षेप गरी संघहरूलाई
अस्थिर बनाउने प्रयास परिषद्ले गरेको छ,’ घलेले भने, ‘हामी यसको विरोध गर्छौं ।’ उनले
२९ मंसिरमा भएको क्यान निर्वाचनलाई सम्पूर्ण जिल्लाबाट समर्थन प्राप्त भएको दाबी गरेका
छन् । यसैगरी, रूपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तु क्रिकेट संघले पनि विरोध र
खेद जनाएका छन् । रूपन्देहीका अध्यक्ष प्रशान्तविक्रम मल्लले क्रिकेट खेलमाथि राजनीतिक
हस्तक्षेप भएको जनाए । ‘सिलवालको अध्यक्षतामा गठन भएको तदर्थ समितिले क्रिकेट खेल नै
ध्वस्त बनाउनेछ,’ मल्ले भने । यसैगरी, पाल्पाका अध्यक्ष राजेश श्रेष्ठले आगामी दिनमा
आइसिसीले लगाउन सक्ने प्रतिबन्धको जिम्मेवार परिषद्ले लिनुपर्ने जनाएका छन् । त्यस्तै,
निर्वाचित क्यानका सचिव किरण राणाले पनि विरोध गरे । खबर नयाँ पत्रिका दैनिक देखी ।
Saturday, January 9, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...