आजभन्दा
दुई वर्षअघि १६ चैत ०७० मा बंगलादेशको चटगाउँस्थित जोहुर अहमद चौधरी रंगशालामा नेपाल
टी/ट्वान्टी विश्वकपको ऐतिहासिक खेलमा सहभागी हुँदै थियो ।
त्यतिबेला सारा नेपाली गर्वले
ढक्क फुलेका थिए । अन्तर्राष्ट्रिय मिडियामा नेपाली क्रिकेटको तारिफ सुन्दा लाग्थ्यो,
सन् २००० मा बंगलादेशले टेस्ट टिमको मान्यता पाएको १४ वर्षपछि नेपाल यो बाटोतर्फ लम्कँदैछ
। हुन पनि नेपालले हङकङलाई ८० र अफगानिस्तानलाई ९ रनले पराजित गर्ने क्रममा सबैको ध्यान
आफूतर्फ खिचेको थियो । तर, यसको दुई वर्षपछि टी/ट्वान्टी विश्वकपको छैटौँ संस्करण हाल
छिमेकी भारतमा भइरहँदा हङकङ र अफगानी खेलाडी जहाँ जोडतोडका साथ आफ्नो हुनर देखाइरहेका
छन्, नेपाली क्रिकेट भने अन्तर्राष्ट्रिय प्रतिबन्धतर्फ उन्मुख देखिन्छ । नेपाली क्रिकेटमा
देखिएको चरम राजनीतिका कारण अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)ले राष्ट्रिय खेलकुद
परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल क्रिकेट संघ (क्यान)का निर्वाचित
महासचिव अशोकनाथ प्याकुर्याल र राखेपले गठन गरेको क्यानको तदर्थ समितिका अध्यक्ष रमेश
सिलवाललाई ६ फागुनमा पत्र पठाउँदै स्पष्ट पारिसकेको छ, फागुन महिनाको अन्त्यसम्म नेपाली
क्रिकेटमा देखिएको विवाद नसुल्टिए आईसीसी प्रतिबन्ध उन्मुख हुनेछ ।
४ वैशाखमा नामिबियाविरुद्ध
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा तय गरिएको आईसीसी विश्व क्रिकेट
लिग च्याम्पियनसिपको खेल नेपालमा गराउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्न पनि उसले
दबाब दिएको छ । आईसीसीका कार्यकारी प्रमुख डेभ रिचड्र् सनले पठाएको पत्रका विषयमा सबैका आ–आफ्नै बुझाइ
छन् । तर, क्रिकेट जानकारहरू यसलाई कूटनीतिक भाषामा आईसीसीले नेपाललाई छिट्टै विवाद
सुल्झाउन दिएको अल्टिमेटमका रूपमा बुझ्छन् । “विवादका कारण नेपालले विश्व क्रिकेट लिग
च्याम्पियनसिपको आयोजना गुमायो भने आईसीसीले विभिन्न चरणको कारबाही अगाडि बढाउँछ ।
तर, अन्त्य प्रतिबन्धतर्फ नै उन्मुख देखिन्छ,” पूर्वअन्तर्राष्ट्रिय खेलाडी मनीष पाण्डे
भन्छन् । उनी नेपाली क्रिकेटको वर्तमान अवस्थालाई लिएर बरू आईसीसी बढी संवेदनशील देखिएको
तर सरकारी पक्ष उदासीन रहेको विश्लेषण गर्छन् । भन्छन्, “आईसीसीले यति स्पष्ट प्रतिक्रिया
जनाउँदा पनि दुवै पक्ष एउटै टेबलमा बसेर समस्या समाधानतर्फ अगाडि नबढेको देख्दा दु:ख
लागेको छ ।”
खबरकान्तिपुरदेखी
अरु खबर पढ्नुहोस् :
http://nepal.ekantipur.com/news/2016-03-13/20160313181718.html
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...