- एमसीसीसँगको
ट्वान्टी–२० खेलमा सोमबार ब्याटिङ गर्दै नेपालका इर्शाद अहमद।
मेरिलेबोन
क्रिकेट क्लब (एमसीसी) ले जितका साथ नेपाल भ्रमण टुंगाएको छ। अन्तिम खेलमा एमसीसीले
सोमबार नेपाल–११ लाई ट्वान्टी–२० खेलमा ४० रनले पराजित गर्यो। एमसीसीले नेपाल भ्रमणमा
३ मा जित हात पार्यो भने २ मा पराजय भोग्यो। पोखरामा एमसीसी स्थानीय टिमसँग अन्तिम
बलमा ४० ओभरको खेलमा पराजित भएको थियो। नेपाल–११ सँगको दुई दिवसीय खेल एमसीसीले बराबरीमा
टुंगाएको थियो। इङलिस काउन्टी खेलाडी नील डेक्सटरले सानदार अलराउन्ड प्रदर्शन
गरेपछि एमसीसीले अन्तिम खेल जित्दै नेपाल भ्रमण अविस्मरणीय बनाएको हो। डेक्सटरले नटआउट
८३ रन बनाएपछि एमसीसीले निर्धारित २० ओभर खेल खेली ३ विकेट गुमाई १ सय ६९ रन बनायो।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाल–११ ले ८ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन
सक्यो। त्रिवि क्रिकेट मैदानमा एसेक्स, केन्ट र मिडलसेक्सबाट खेलिसकेका डेक्सटरले
५१ बल खेली ९ चौका र ४ छक्का प्रहार गरे। उनले अन्तिम ओभरमा करण केसीको बलमा ३ छक्का
र २ चौका गरी एक्लैले २७ रन जोडे। एमसीसीले अन्तिम ओभरमा कुल ३० रन जोड्यो। ३९
बलमा अर्धशतक बनाएका डेक्सटरले आफ्नो बाँकी ३३ रन १२ बलमै प्रहार गरेका थिए। नेपालका
तीव्र बलर करणले योर्कर गर्न खोज्दा अन्तिम ओभरमा अधिकांश बल फुल टस फाल्न पुगेका थिए।
एमसीसीबाट जर्ज होल्मेस १२, एडाएर १९ र माइकल कोल्स २७ रन बनाई आउट भएपछि डेक्सटरले
स्टिभ क्लार्कसँग ५० बलमा आउट नभई ८८ रन जोडेका थिए। क्लार्क १५ बलमा २ चौका प्रहार
गरी १६ रनमा नटआउट रहे। नेपालबाट करण, दीपेन्द्र ऐरी र इर्शाद अहमदले १–१ विकेट लिए।
करणले ४ ओभरमा ४९ र दीपेन्द्रले १५ रन खर्चिए। नेपालबाट कुनै ब्याट्सम्यानले एमसीसीको
स्तरअनुरूप प्रदर्शन गर्न सकेनन्। ओपनरद्वय दिलीप नाथ १७ र सुवास खकुरेल ११ रनमा आउट
भए। प्रदीप ऐरी पनि ३ रनमै आउट भए। ज्ञानेन्द्र र राजेश पुलामीले केही राम्रो खेल्दै
नेपाल–११ को स्कोर हेर्न लायक बनाए। ज्ञानेन्द्रले १५ बलमा २३ र राजेशले २२ बलमा २६
रन बनाए। दुवैले समान २ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्र ११ रनमा आउट भए।
सुमित महर्जन १७ र इर्शाद ७ रनमा नटआउट रहे। डेक्सटरले ४ ओभरमा १७ रन खर्चेर ४ र एलेक्स
म्याक्विनले २ विकेट लिए। विश्वको सबैभन्दा पुरानो क्लब एमसीसी तेस्रो पटक नेपाल भ्रमणमा
आएको हो। २००३ र २००९ मा यसअघि नेपाल भ्रमणमा आएको एमसीसीले भविष्यमा पनि नेपाल आउने
टिमका व्यवस्थापक कोलिन माबरले बताए। एमसीसीले सोमबार खेलपश्चात आफ्ना खेलाडीले प्रयोग
गरेको किट्स नेपाल क्रिकेट संघलाई प्रदान गरेको थियो।
Tuesday, November 24, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...