काठमाडौं
– नेपालले नामिबियाविरुद्ध खेल्ने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि
२५ जना खेलाडी छनोट गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी एसियाका प्रमुख
विकास अधिकृत भेन्कत्पथी राजु, प्रशिक्षक जगत टमाटा र खेलाडी पारस खड्का रहेको तीन
सदस्यीय स्वतन्त्र छनोट समितिले २५ जनाको नाम राष्ट्रिय खेलकुद परिषद् राखेपलाई बुझाएको
छ । राखेपका प्रेस सल्लाहकार रोहित दाहालका अनुसार क्रिकेट संघ क्यानमा विवाद भएकाले
आइसिसीले खेलाडी छनौटमा सहयोग गरेको छ भने राखेपले समन्वय गरिरहेको छ । खेलाडी छनौट
तथा प्रतियोगिता आयोजनामा क्यानको संलग्नता नरहने आइसिसीले यसअघि नै स्पष्ट पारिसकेको
थियो । प्रशिक्षक टमाटाका अनुसार ४० खेलाडीबाट २५ खेलाडीको छनोट गरिएको हो र अन्तिममा
४ वैकल्पिकसहित १८ खेलाडीको छनोट गरिने छ । छनोट भएका खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र
मल्ल, शरद भेषावकर, शक्तिप्रसाद गौचन, सोमपाल कामी, बसन्त रेग्मी, सागर पुन, विक्रम
सोब, सुवास खकुरेल, करण केसी, नरेश बुढा ऐर, सिद्धान्त लोहनी, सन्दिप लामिछाने, अनिलकुमार
मण्डल तथा सुशील धमला रहेका छन् । अन्य खेलाडीमा दीपेन्द्रसिंह ऐरी, राजु रिजाल,
प्रेम तामाङ, सुशन भारी, मन्जित श्रेष्ठ, अभिनास कर्ण, आरिफ शैख, राजेश पुलामी मगर,
प्रदीप ऐरी तथा विनोद भण्डारी छन् । विश्व क्रिकेट लिगअन्तर्गत पहिलो खेल वैशाख ४ गते
र दोश्रो खेल वैशाख ६ गते हुने छ । दुवै खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ
।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...