
आफ्नो
अन्तिम टेस्टको नतिजा जस्तै रहे पनि श्रीलंकाका कुमार संगकरा क्रिकेटको आधुनिक महान्
ब्याट्सम्यानका रूपमा कायम रहनेछन् । आउने अक्टोबरमा ३८ वर्ष पुग्ने बायाँ हाते ब्याट्सम्यान
संगकराले बिहीबार आफ्नो १५ वर्षको खेलजीवनमा पूर्णविराम लगाउँदै छन् । कोलम्बोको पी
सारा ओभलमा श्रीलंका र भारतबीच तीन टेस्ट सिरिजको दोस्रो खेल हुनेछ । सबै खाले खेल
स्थितिमा विपक्षी टिममाथि हाबी रहने प्रयास गर्ने संगकरा लगातार रन बनाउने भोकका लागि
प्रसिद्ध छन् । उनको खेलजीवन पनि सफलताको पर्याय रहेको छ । उनले अहिलेसम्म १ सय ३३
टेस्टमा ३८ शतकसहित १२ हजार ३ सय ५० रन बनाएका छन् । उनी सर्वाधिक टेस्ट रन बनाउने
खेलाडी सूचीको पाँचौं स्थानमा छन् । अहिले सक्रिय खेलाडीमध्ये भने उनी सर्वाधिक रन
बनाउने ब्याट्सम्यानमा पर्छन् । संगकराको टेस्ट औसत ५७.७१ रहेको छ र यसको आधारमा उनी
सर्वकालीन महान् ब्याट्सम्यान सूचीको शीर्ष दसभित्र पर्छन् । उनले ११ अवसरमा दुई सयभन्दा
बढीको स्कोर बनाएका छन् र यो डन ब्रेडम्यानको नाममा रहेको १२ दोहोरो शतकबाट एक मात्र
टाढा छ । श्रीलंकाली क्रिकेट समर्थक संगकराले टेस्टबाट पनि सुखद बिदाइ पाउने आस गरिरहेका
छन् । उनले आफ्नो अन्तिम ट्वान्टी–ट्वान्टी खेलमा नटआउट ५२ रन बनाएर श्रीलंकालाई वल्र्ड
ट्वान्टी–ट्वान्टी दिलाएका दिए । त्यसयता उनले पछिल्लो वान–डे विश्वकपमा पनि लगातार
चार शतकको कीर्तिमान राखे र ५० ओभरको खेलबाट बिदाइ लिए । त्यसपछि उनी टेस्ट क्रिकेटबाट
पनि संन्यास लिन चाहन्थे, तर श्रीलंकाली छनोटकर्ताको अनुरोधमा पाकिस्तान र भारतविरुद्धको
टेस्ट सिरिजमा खेल्न तयार भएका थिए । संगकराले आउने केही समय इङलिस काउन्टी क्रिकेटमा
खेल्ने क्रम भने जारी राख्नेछन् । दोस्रो टेस्ट अगाडि तीन खेलको सिरिजमा अहिले श्रीलंका
१–० ले अगाडि छ ।
Thursday, August 20, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...