
नेपालले टेस्ट क्रिकेटको मान्यताप्राप्त पाकिस्तानसँग खेल्ने मौका
पाएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको पपुवा न्युगिनीसँगको खेल अगाडि नेपालले
पाकिस्तानसँग यूएईमा खेल्न लागेको हो । इंग्ल्यान्डसँग तीन टेस्ट, चार एकदिवसीय अन्तर्राष्ट्रिय
र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न पाकिस्तान टिम यूएई भ्रमणमा रहेको समयमा अन्तर्राष्ट्रिय
क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई यो अवसर मिलाइदिएको हो । पाकिस्तानले इंग्ल्यान्डसँग
तेस्रो टेस्ट खेलेपछि नोभेम्बर ८ मा नेपालसँग शारजहाँमा खेल्न लागेको हो । त्यसको तीन
दिनपछि पाकिस्तानले अबुधावीमा इंग्ल्यान्डसँग पहिलो एकदिवसीय खेल्नेछ । नेपालका प्रशिक्षक
पुबुदु दसानायकेले नेपालले पाकिस्तानसँग खेल्न लागेको पुष्टि गरे । तर पाकिस्तानले
कस्तो टिम ओराल्छ भन्नेमा उनले पनि अनभिज्ञता जनाए । ‘पाकिस्तानी टिम कस्तो हुन्छ हामीले
अझै खबर पाएका छैनौं । टेस्ट खेल्ने राष्ट्रको ‘ए’ टिम नै भए पनि हाम्रा लागि ठूलो
अवसर हो,’ दसानायकेले भने । पाकिस्तानले नेपालसँग खेल्ने दिन इंग्ल्यान्डले हङकङसँग
एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । हङकङसँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता
भएकाले इंग्ल्यान्डसँगको त्यस खेलले आधिकारिक मान्यता पाउन सक्ने छ । तर नेपालले पाकिस्तानसँग
खेल्ने खेल कुन मान्यताको हुने खुलेको छैन । त्यसले लिस्ट ‘ए’ को मान्यता पाउन सक्छ
। पाकिस्तानसँग खेलेमा नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेलेको यो केवल दोस्रो खेल
हुनेछ । गत वर्ष विश्व ट्वान्टी–२० मा नेपालले आयोजक बंगलादेशसँग खेलेको थियो । पाकिस्तानले
त्यो खेललाई अभ्यासका रूपमा मात्र लिन सक्ने भए पनि दसानायके उक्त खेल खेल्न आफ्नो
टिम आतुर रहेको बताए । ‘यो यस्तो म्याच हो जुनबारे हामीले लामो समयदेखि सपना देखिरहेका
थियौं । यो खेलको हामी आनन्द उठाउनेछौं र प्रतीक्षा गरेर बसिरहेका छौं,’ दसानायकेले
भने । नेपाल प्रशिक्षकका रूपमा यो उनको अन्तिम भ्रमण हो । व्यक्तिगत कारण देखाउँदै
उनले मंगलबार एक महिनाभन्दा बढीको समय राखेर राजीनामा दिएका थिए ।
नेपालले पपुवा न्युगिनीसँग नोभेम्बर २८ र ३० मा काठमाडौंमा खेल्ने कार्यक्रम थियो ।
तर आईसीसीले सुरक्षाको कारण देखाउँदै उक्त खेल नोभेम्बर १६ र १८ लाई अबुधावीमा सारेको
थियो । पाकिस्तानसँग बाहेक नेपालले यूएई भ्रमणमा हङकङसँग दुबईमा नोभेम्बर ५ र ६ मा
दुई दिवसीय म्याच खेल्नेछ । त्यसपछि पाकिस्तानसँग खेल्ने नेपालले नोभेम्बर १० मा स्थानीय
टिम डानुबेसँग र १४ मा ओमानसँग खेल्नेछ । पीएनजीसँगको खेल अगाडिको नेपालको तालिका सबै
आईसीसीले मिलाइदिएको हो । एसिया कप छनोटका लागि यो समयमा हङकङ, ओमान, अफगानिस्तानको
टिम यूएईमै हुनेछ । नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रूपमा आफ्नो अन्तिम खेललाई
दसानायके सम्झनलायक बनाउने बताउँछन् । ‘पपुवा न्युगिनीसँगको खेल अगाडि लय समात्ने हामीलाई
राम्रो अवसर मिलेको छ । पपुवा न्युगिनीसँगको खेल जितेर हामी विश्व क्रिकेट लिग च्याम्पियनसिपको
अन्य खेलाडी अगाडि हामी हाम्रो मनोबल उँचो पार्न चाहन्छौं ।’ जनवरीमा नामिबियामा भएको
विश्व क्रिकेट लिग डिभिजन २ मा चौथो भएसँगै नेपालले च्याम्पियनसिपमा खेल्ने मौका पाएको
थियो । ८ राष्ट्र सहभागी च्याम्पियनसिपमा एउटा टिमले घरेलु मैदानमा ३, अवेमा ३ र एक
तटस्थ भूमिमा गरी १४ एकदिवसीय खेल खेल्न पाउनेछ । यसका शीर्ष ६ टिमले अर्को वर्ष बंगलादेशमा
२०१९ को विश्वकप छनोटमा खेल्न पाउनेछन् । एकदिवसीय वरीयताको अन्तिम चार स्थानमा रहेको
टिम यसमा खेल्ने अन्य टिम हुनेछन् । च्याम्पियनसिपमा नेपालले स्कटल्यान्डसँगको खेल
गुमाइसकेको छ । जुलाईमा अनिल मण्डलको शतकलाई पन्छाउँदै नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक
जित हात पारेको थियो । दोस्रो खेलमा भने नेपाललाई स्कटल्यान्डले सजिलै पराजित गरेको
थियो । पपुवा न्युगिनीपछि नेपालले फेब्रुअरीमा हङकङमा गएर खेल्ने कार्यक्रम छ । च्याम्पियनसिप
खेल्ने अन्य टिममा नेदरल्यान्ड्स, केन्या, नामिबिया र यूएई छन् । कान्तिपुर दैनिक देखी खबर
।
नेपालको यूएई भ्रमण
नोभेम्बर ५ र ६ – हङकङसँग दुई दिवसीय
नोभेम्बर ८ – पाकिस्तानसँग एकदिवसीय
नोभेम्बर १० – डानुबे क्लबसँग एकदिवसीय
नोभेम्बर १४ – ओमानसँग एकदिवसीय
नोभेम्बर १६ – पपुवा न्युगिनीसँग एकदिवसीय
Saturday, October 10, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...