
राष्ट्रिय टिमका कप्तान पारस खड्काको कप्तानीमा रहेको नेपाल रेडले
सुपर लिग क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । नेपाल रेडले सोमबार
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाल ब्लुलाई ३७ रनले पराजित गर्यो । पारसले
सानदार ब्याटिङ गर्दै ६० रन बनाएपछि नेपाल रेडले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा
निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ११ रन बनायो । जवाफमा नेपाल ब्लु ३९.२ ओभरमा
१ सय ७४ रनमा अलआउट भयो । नेपाल रेडको यो लगातार दोस्रो जित हो । पारसले अफस्पिनर सञ्जम
रेग्मीको प्रभावलाई पन्छाउँदै ८६ बलमा अर्धशतक पूरा गरेका थिए । १ सय ३ बलको इनिङ्समा
उनले ७ चौका प्रहार गरे । ओपनर अनिल मण्डलले पनि अर्धशतक बनाउँदै पारससँग तेस्रो विकेटका
लागि १ सय ३ रन जोडे । अनिलले ५२ रन बनाए । उनले १ सय १७ बल खेली ३ चौका र १ छक्का
प्रहार गरे । पुष्प थापाले २३ बलमा ३ चौका र २ छक्कासहित नटआउट ३९ रन बनाए । परेश लोहनी
२२ र सागर पुन १६ रनमा आउट भए । सञ्जमले १० ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । अर्को
एक विकेट महबुब आलमको नाममा रह्यो । स्पिनरको वर्चस्व कायमै रहेको दिन भुवन कार्कीले
लगातार दोस्रो खेलमा ५ विकेट लिए । बायाँ हाते भुवनले ७ ओभरमा १ मेडन राख्दै २४ रन
खर्चेर अर्को उत्कृष्ट प्रदर्शन गरे । यज्ञमान कुमालले ३ तथा जितेन्द्र मुखिया र पुष्पले
१–१ विकेट लिए । नेपाल ब्लुबाट भूपेन्द्र थापाले ५१ रन बनाए । ओपनर भूपेन्द्रले ७१
बल खेली ८ चौका र १ छक्का प्रहार गरे । विधान श्रेष्ठ र महबुब आलमले २४–२४ तथा नरेश
बुढाऐरले १६ रन बनाए । अर्को खेलमा शक्ति गौचनको कप्तानीमा रहेको नेपाल ग्रेले नेपाल
ग्रिनलाई १ सय ८ रनले पराजित गर्यो । वसन्त रेग्मीको कप्तानीमा रहेको ग्रिनको यो लगातार
दोस्रो पराजय हो । हासिम अन्सारीको ९१ रनमा नेपाल ग्रेले पुल्चोक इन्जिनियरिङ क्याम्पस
मैदानमा ९ विकेट गुमाई २ सय ४ रन बनायो । हासिमले १ सय ७ बल खेली ११ चौका प्रहार गरे
। सिद्धान्त लोहनी २४, कप्तान शक्ति गौचन र प्रज्वल शाही १५–१५, हरिशंकर शाह १४ तथा
हिमांशु दत्त र आशिष धामी १२–१२ रनमा आउट भए । नेपाल ग्रिनका करण केसी र सन्तोष भट्टले
३–३ विकेट लिए । दुवैले १० ओभरमा ३५ रन खर्चेका थिए । विक्रम सोवले १ विकेट लिए । नेपाल
ग्रिन ३३.४ ओभरमा ९६ रनमा अलआउट भयो । अनुपम सिंहले २८, सन्तोष भट्टले १६, पृथु बाँस्कोटाले
१५ र करणले १२ रनबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । नेपाल ग्रेका इर्शाद अहमदले
८ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । मोइनुद्दिन खान, प्रदीप ऐरी र सिद्धान्त लोहनीले
२–२ तथा हरिशंकरले १ विकेट लिए । खबर कान्तिपुर दैनिक देखी ।
Tuesday, October 13, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...