एजेन्सी - अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा सचिन तेन्दुलकरले
शतकको शतक बनाएका छन् । सचिनको शतकीय कीर्तिमान तोड्न कठिन नै छ । २४ वर्षको करिअरमा
सचिनले टेस्टमा तेहेरो शतक भने बनाउन सकेनन् ।
अस्ट्रेलियाविरुद्धको २ सय ४७ रन नै
सचिनको टेस्टकै सर्वाधिक योगफल हो । उत्कृष्ट फर्ममा रहँदा पनि उनी कहिल्यै तेहेरो
शतकनजिक पुग्न सकेनन् । उनले टेस्टमा ५१ शतक जमाएका छन् । यसैबीच, भारतका पूर्वकप्तान
कपिल देवले सचिनसँग तेहेरो शतक बनाउने खुबी नभएको भनाइ राखेका छन् । ‘यो कुरा भन्दा
सचिनका समर्थकलाई नराम्रो लाग्न सक्छ, तर वास्तवमा सचिनलाई तेहेरो शतक बनाउन आउँदैन,’
टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै कपिलले भने, ‘मैले
धेरैपटक हेरेको थिएँ, सचिन दोहोरो शतक जमाउँदा पनि धेरै मिहिनेत गर्छन्, उनी त्यसभन्दा
माथि जान सक्दैनथे ।’ सचिनले आफ्नो क्षमताअनुसार खेल्न नसकेको पनि कपिलको धारणा छ ।
‘सचिन आफ्नो क्षमताअनुसार खेल्न सकेनन्, उनीसँग ३ सयदेखि ४ सय रन बनाउने क्षमता भए
पनि त्यसको सदुपयोग गर्न जानेनन् ।’ भारतका लागि वीरेन्द्र सेहवागले दुईपटक तेहेरो
शतक बनाएका छन् । सचिन र सेहवागबीच खासै फरक नभएको कपिलले जनाए । ‘भारतीय क्रिकेटले
सचिन र सेहवागजस्ता ब्याट्सम्यान पाएको छ, दुवै ब्याट्सम्यान बहुप्रतिभाशाली हुन्,’
सन् १९८३ मा भारतलाई पहिलोपटक विश्वकप दिलाएका कपिलले भने, ‘तर सचिनभन्दा सेहवाग तेहेरो
शतकका लागि खप्पिस थिए ।’ टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा कपिलले सेहवागको प्रशंसा
गरेका छन् । कपिल भन्छन्, ‘सेहवागलाई थाहा छ, पहिलो शतकपछि तेहेरो शतक कसरी बनाउनुपर्छ,
यसै कारण नै सेहवागले भारतका लागि दुईपटक तेहेरो शतक जमाए ।’ सचिन उत्कृष्ट फर्ममा
रहँदा वेस्ट इन्डिजका भिभ रिचार्डकै शैली अपनाएको कपिलले विश्लेषण गरेका छन् । ‘मैले
सचिन र रिचार्डको ब्याटिङ नजिकबाट हेर्ने अवसर पाएँ, सचिनले लगभग रिचार्डकै शैली अपनाए,’
सचिन र रिचार्डसँगको ब्याटिङ तुलना गर्दै कपिलले भने, ‘तर, दुवै ब्याट्सम्यानमा क्रिजमा
लामो समयसम्म टिकिरहने धैर्य छैन ।’
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...