एजेन्सी - पाकिस्तानी पूर्वकप्तान इमरान खानले बिबिसीकी पूर्वसमाचारवाचिका
रेहामसँग १० महिनाअघि धुमधामका साथ विवाह गरेका थिए ।
तर,
इमरानले रेहामसँग वैवाहिक सम्बन्ध १० महिनाभन्दा पनि लम्ब्याउन
सकेनन् । दुवैले परिवारिक र निजी कारण जनाउँदै अलग हुने निर्णय गरेका
छन् । इमरानले शुक्रबार आफ्नो समाजिक सञ्जाल फेसबुक पेजबाटै पत्नी रेहामसँग सम्बन्धविच्छेद
भएको उल्लेख गरेका छन् । यता, रेहामले पनि इमरानसँग कुनै सम्बन्ध नरहेको फेसबुकबाटै
जवाफ फर्काइन् । इमरानले रेहामसँग अलग बस्नु पर्दा दु:ख लागेको जनाएका छन् । ‘हामी
दुवैले अलग बस्नका लागि डिभोर्स पेपर दर्ता गराएका छौँ,’ रेहामको फेसबुक पेजमा भनिएको
छ । त्यसको प्रत्युत्तर दिँदै इमरान लेख्छन्, ‘यो निर्णय गर्दा धेरै दु:ख लागेको छ,
हामी अब स्वतन्त्र जीवन बिताउँछौँ ।’ गत जनवरीमा विवादबीच इमरानले रेहामसँग विवाह गरेका
थिए । त्यसबेला इमरानको परिवारले विवाहलाई मान्यता दिएको थिएन । इमरानले परिवारको सहमतिविना
नै रेहामसित विवाह गरेका थिए । पाकिस्तानी समाचार एजेन्सी पिटिआईले रेहामको राजनीति
मोहका कारण इमरानसँगको सम्बन्ध टुटेको जनाएको छ । इमरानले श्रीमती रेहामलाई राजनीतिबाट
टाढै राख्ने कोसिस गरेका थिए । पिटिआईका अनुसार परिवारकै दबाबमा इमरानले रेहामलाई डिभोर्स
दिएका हुन् । इमरान तेहरिक आई इन्साफ पार्टीका अध्यक्ष हुन् । सन् २०१३ को चुनावमा
इमरानको पार्टी तेस्रो ठूलो दल बनेको थियो । ‘इमरानको परिवार रेहाम राजनीति क्षेत्रमा
लागेको मन पराउँदैन, तर रेहाम इमरानकै पार्टीसँग आबद्ध हुन चाहन्थिन्, रेहामको राजनीतिमोहकै
कारण इमरानले डिभोर्स दिन बाध्य भएका हुन्,’ पिटिआईले उल्लेख गरेको छ, ‘इमरानको परिवारका
सदस्य रेहामलाई घरभित्रै राख्न चाहन्थे ।’ रेहाम लिबियामा जन्मेकी हुन् । उनका पिता
पाकिस्तानी नागरिक हुन् । रेहामका पूर्वपतिबाट तीन सन्तान छन् । इमरानको परिवारले रेहामका
तीन सन्तानलाई घरमा राख्न नचाहेको पिटिआईले उल्लेख गरेको छ । यता, पिटिआईले इमरानको
वैवाहिक जीवन विवादास्पद रहेको बताएको छ । सन् २००४ मा पनि इमरानले जेमिना खानसँग डिभोर्स
लिएका थिए । त्यसबेला पनि इमरानलाई परिवारबाट ठूलो दबाब आएको थियो । राजनीतिमा लाग्नुअघि
इमरान पाकिस्तान क्रिकेटकै एक ठूलो हस्तीका रूपमा परिचित थिए । अहिले इमरान पाकिस्तानमा
प्रसिद्ध नेताका रूपमा परिचित छन् । उनले सन् १९९२ मा पहिलोपटक पाकिस्तानलाई आफ्नो
नेतृत्वमा एकदिवसीय विश्वकप उपाधि दिलाएका थिए । इमरानले टेस्ट खेलमा ३ हजार ८ सय ७
रन बनाएका छन् । पाकिस्तानका लागि उनले सन् १९७१ देखि १९९२ सम्म खेले । उनले दुईपटक
पाकिस्तानी टोली सम्हाले । सन् १९८२ र १९९२ मा उनी पाकिस्तानी टोलीका कप्तान थिए ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...