एजेन्सी
- भारत र पाकिस्तानबीचको क्रिकेट सिरिज श्रीलंकामा
हुने भएको छ । श्रीलंकाली क्रिकेट बोर्डले भारत–पाक सिरिज १५ डिसेम्बरमा हुने जनाएको
छ ।
पाकिस्तानी प्रधानमन्त्री
नवाज सरिफले पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) लाई श्रीलंकामा क्रिकेट
खेल्न अनुमति दिएपछि भारत–पाक सिरिज सम्भव भएको भारतीय क्रिकेट बोर्ड
(बिसिसिआई) का सचिव अनुराग ठाकुरले जनाएका छन् । ‘पाकिस्तानी प्रधानमन्त्री सरिफले
श्रीलंकामा दुई मुलुकबीच खेल खेल्न अनुमति दिएका छन्,’
ठाकुरले भारतीय मिडियालाई भने, ‘अब भारत–पाकबीचको क्रिकेट सिरिज
श्रीलंकामा हुने पक्का भइसकेको छ ।’ उनले पाकिस्तानसँगको तिक्तता
चिर्दै आफूहरू श्रीलंकामा क्रिकेट खेल्न राजी भएको पनि बताए । सन् २००९ मा मुम्बई आतंककारी
हमलामा पाकिस्तानको हात रहेको जनाउँदै भारतले छिमेकी मुलुकसँग एकपक्षीय सम्बन्धविच्छेद
गरेको थियो ।
त्यस समयदेखि भारत र पाकिस्तानले आ–आफ्नो भूमिमा एक आपसविरुद्ध क्रिकेट
खेलेका छैनन् । तर, आइसिसी र एसिसीले आयोजना गरेका प्रतियोगितामा भने दुई मुलुकबीच
खेल भएका छन् । सन् २०१२ को एसिया कप तथा सन् २०१५ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा
उनीहरूले एकआपसमा प्रतिस्पर्धा गरेका थिए । यता, पाकिस्तानले धेरैपटक भारतलाई तटस्थ
भूमिमा क्रिकेट खेल्न प्रस्ताव नराखेको होइन, तर भारतीय पक्ष मान्न तयार भएन । बिसिसिआईले
माथिल्लो निकायको अनुमतिविना खेल असम्भव रहेको भनी पाकिस्तानको प्रस्ताव अस्वीकार गरेको
थियो । पाकिस्तानले पछिल्लोपटक भारतलाई दुबईमा टी–२० र एकदिवसीय खेल खेल्न प्रस्ताव
राखेको थियो । यसैबीच, ठाकुरका अनुसार श्रीलंकाले टी–२० र एकदिवसीय खेल आयोजना गर्नेछ
।
Sunday, November 29, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...