सोमपाल
कामी र अविनाश कर्णले टेस्ट क्रिकेट राष्ट्रमा प्रथम श्रेणी क्रिकेट खेल्ने अवसर पाएका
छन् । तीव्र बलर जोडीद्वयलाई श्रीलंकाको कालुतारा टाउन क्लबले आउँदो घरेलु सिजनका लागि
खेल्न बोलाएपछि नेपाली खेलाडीले इतिहास रच्ने मौका पाउन लागेका हुन् । कालुतारा गत
सिजनमा दोस्रो डिभिजनमा थियो । फेब्रुअरीमा सोमपाल र सागर पुनले उत्कृष्ट प्रदर्शन
गर्दै यो टिमलाई माथिल्लो श्रेणीमा उकालेका थिए । सोमपालले पाँच तीन दिवसीय खेलमा ३७
विकेट लिएर असाधारण प्रदर्शन गरेका थिए । कालुताराले सोमपाललाई अनुबन्धन गर्ने निर्णय
गरिसकेको छ र नेपाल क्रिकेट संघ (क्यान) को स्वीकृतिको प्रतीक्षामा छ । यी दुई क्रिकेटरलाई
पहिलो सत्रका लागि बोलाइएको हो । श्रीलंका घरेलु क्रिकेटको पहिलो सिजन नोभेम्बरदेखि
फेब्रुअरीसम्म हुने कार्यक्रम रहेको छ । क्यानको स्वीकृति र कागजी प्रक्रिया पूरा गरेमा
सोमपाल र अविनाशले टेस्ट क्रिकेट राष्ट्रमा प्रथम श्रेणीको क्रिकेट खेल्नेछन् । नेपालले अन्तरमहादेशीय कपमार्फत ५ प्रथम श्रेणीको म्याच खेलेको छ ।

ती म्याच नेपालले
काठमाडौं, यूएई, मलेसियामा खेलेको छ । सन् २००५ मा कीर्तिपुरमा हङकङसँग नेपालले पछिल्लो
पटक प्रथम श्रेणीको क्रिकेटमा प्रतिस्पर्धा गरेको थियो । नोभेम्बर २८ र ३० मा नेपालले
पपुवा न्युगिनीविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपमा काठमाडौंमा खेल्ने कार्यक्रम
छ । त्यसपछि सोमपाल र अविनाश श्रीलंका जान सक्छन् । कालुताराको तालिकाअनुसार सोमपाल
र अविनाशले ६ तीन दिवसीय खेल तथा ६–६ पचास ओभर र ट्वान्टी–२० खेल खेल्नेछन् । कालुतारा
दोस्रो चरणमा पुगेमा टिमले थप ६ तीन दिवसीय र पचास ओभरको खेल खेल्न पाउनेछ । कालुताराबाट
फेरि खेल्न पाउनुलाई लिएर आफू उत्साहित रहेको सोमपालले कान्तिपुरलाई बताए । उनले भने,
‘पहिला मैले तीन दिवसीयमा मात्र खेलेको थिएँ, अहिले सबै प्रकारको क्रिकेटमा खेल्न प्रस्ताव
आएको छ । पहिला र अहिलेको स्तर पनि फरक छ ।’ २०१४ को जनवरीमा न्युजिल्यान्डमा भएको
विश्वकप छनोटदेखि सोमपाल राष्ट्रिय टिममा छन् । सोमपालको सबै खर्च कालुताराले बेहोर्नेछ र उनलाई क्लबले तीन दिवसीय र ५० ओभर खेल्दा
पारिश्रमिक पनि दिनेछ । अविनाश खेल्दाको खर्च भने क्यानले बेहोर्नुपर्ने हुन्छ । ‘सोमपालले
पछिल्लो पटक खेल्दा निकै प्रभावशाली प्रदर्शन गरेका थिए, त्यसैले कालुताराले उनलाई
फेरि खेलाउन खोजिरहेको छ,’ हाल गृहनगर क्यानडामा छुट्टीमा रहेका नेपाली राष्ट्रिय टिमका
प्रशिक्षक पुबुदु दसानायकेले भने, ‘यो हाम्रा खेलाडीका लागि राम्रो अवसर हो ।’ क्यानका
कार्यवाहक महासचिव उत्तम कर्माचार्यले श्रीलंकाली क्लबबाट औपचारिक प्रस्ताव आएपछि प्रक्रिया
अगाडि बढाउने बताए । ‘उताबाट पत्र आएपछि हामी दुवैलाई पठाउनेछौं,’ कर्माचार्यले भने,
‘अहिले प्रशिक्षकको पहलमा प्रस्ताव आएको हो । पत्र आएपछि हामी सबै प्रक्रिया पूरा गर्नेछौं
।’ यसअघि अमृत भट्टराई, चन्द्र साउद, सुवास खकुरेल र प्रदीप ऐरीले पनि श्रीलंकामा गएर
खेलेका थिए । त्यस्तै पारस खड्का, ज्ञानेन्द्र मल्ल र वसन्त रेग्मीले क्यानडामा क्लब
क्रिकेट खेलेका थिए । खबर राष्ट्रिय दैनिक कान्तिपुर
देखी ।
Saturday, September 5, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...