
नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीको कप्तानबाट पारस खड्कालाई
हटाएकोे खबरले शुक्रबार निकै चर्चा पायो । पारस सन् २०१० देखि नेपाली क्रिकेट टोलीको
कप्तान छन् । र, उनको कप्तानीमा नेपालले टी-२० विश्वकपसम्मको यात्रा तय गर्यो । तर,
क्यानको कमजोर व्यवस्थापनप्रति पारसले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् । यस
विषयलाई लिएर क्यानका सदस्यहरु असन्तुष्ट रहेका छन् । उनीहरुले पारस क्यानविरुद्ध लागेको
आरोप लगाउँदै आएका छन् । यो साता राजधानीमा क्यानको बोर्ड बैठक बसिरहेका बेला राष्ट्रिय
खेलकुद परिषद्ले विघटन गर्ने तयारी गरिरहेको खबर आयो र राखेपसँगको छलफलमा पारससहितका
खेलाडी उपस्थित भएपछि क्यानका केही पदाधिकारीले चर्को आलोचना गरे । त्यही मौकामा क्यानका
केही पदाधिकारीले पारसलाई कप्तानबाट हटाउने निर्णय भएको हल्ला चलाए । ती पदाधिकारीले
भने- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत पपुवा न्यूगिनीसँगको खेलमा पारसलाई कप्तान
नबनाउने निर्णय भएको छ ।’ ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर र विनोद भण्डारी मध्ये एकलाई
कप्तानी दिने निर्णय भएको उनको दावी छ । निर्णयको माइन्यूट तपाईंहरुसँग छ ? भन्ने प्रश्नमा
उनी केही हच्किए । माइन्यूटको निर्णय महासचिव उत्तम कर्मचार्यसँग रहेको उनले बताए ।
पारसलाई कप्तानबाट हटाउने निर्णय भएको समाचारले खेलाडीदेखि अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको
समेत ध्यान तानेको छ । खेलाडीहरुले क्यानका अधिकारीहरुलाई निर्णयबारे प्रश्न गरिरहेका
छन् । तर, क्यानले अहिलेसम्म समाचारको न त औपचारिक रुपमा खण्डन गरेको छ न त पुष्टी
नै । क्यानका कार्यबाहक अध्यक्ष दीपक कोइरालाले आफू उपस्थित भएको कुनै पनि मिटिङमा
यस्तो निर्णय नभएको बताए । उनले भने, पारसलाई कप्तानबाट हटाएको होइन । म उपस्थित भएको
कुनै मिटिङमा त्यस्तो निर्णय भएको छैन् । अरुले अन्तै केही गरेको भए थाहा छैन् ।’ क्यानका
केही पदाधिकारीले त्यस्तो निर्णय गरेको भए के हुन्छ भन्ने प्रश्नमा कोइरालाले भने,
त्यस्तो निर्णय कसरी कार्यान्वयन हुन्छ र ? क्यानका कार्यबाहक महासचिव उत्तम कर्मचार्यले
पनि पारसलाई कप्तानबाट हटाउने कुनै निर्णय नभएको दाबी गरे । उनले भने, पारसलाई कप्तानबाट
हटाउने हल्ला गलत हो । यसबारे कुनै छलफल भएको छैन् । हामीले राष्ट्रिय प्रतियोगिताको
तयारीबारे मात्र छलफल गरेका हौं ।’ क्यानकी सिइओ भावना घिमिरेले पनि पारसलाई कप्तानबाट
हटाउने निर्णय थाहा नभएको बताइन् । पछिल्ला बैठकको माइन्यूट हेरेका क्यानका कर्मचारीहरु
अहिलेसम्म कुनै पनि बैठकले औपचारिकरुपमा पारसलाई हटाउने निर्णय नगरेको दावी गरेका छन्
। खबर अनलाइनखबर देखी ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...