
भारत भ्रमणमा पाएको एक्सपोजरसँगै नेपाली यू–१९ क्रिकेट टिमका प्रशिक्षक
जगत टमाटा हौसिएका छन् । बुधबार मलेसियामा सुरु हुने छनोट प्रतियोगिता अगाडि यो भ्रमण
नेपाललाई आईसीसी यू–१९ विश्वकपमा पुर्याउन फलदायी हुने विश्वास उनको छ । हुन त टमाटाका
लागि नेपाललाई यू–१९ विश्वकपमा पुर्याउनु कुनै नौलो होइन । नेपालले ६ पटक युवा क्रिकेटको
ठूलो प्रतियोगितामा खेलिसकेको छ । तर नेपाल पछिल्लो पटक यू–१९ विश्वकपमा सन् २०१२ मा
खेलेको थियो । त्यो टमाटाकै प्रशिक्षणमा थियो । १० राष्ट्र सहभागी प्रतियोगितामा नेपाललाई
दोस्रो बनाउँदै विश्वकपसम्म डोर्याएका थिए । यसपटक यू–१९ विश्वकप छनोटको जिम्मेवारी
टमाटाकै काँधमा छ । नेपाल सहित मलेसियामा आयरल्यान्ड, पपुवा न्युगिनी, युगान्डा, अमेरिका
गरी ५ टिम प्रतिस्पर्धा गर्नेछन् । दोस्रो हुनुले कुनै अर्थ राख्ने छैन । विजेतामात्र
अर्को वर्ष भारतमा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ । त्यसैले टमाटा भन्छन्, ‘मलेसियाबाट
च्याम्पियन बनेर आउने हो ।’ अघिल्लो महिना मात्र नेपालले मलेसियामै एसीसी यू–१९ प्रिमियर
क्रिकेट खेलेको थियो । त्यसमा पनि नेपाल र टमाटाको लक्ष्य विजेता नै थियो । तर नेपालले
विजेता बनेको अफगानिस्तानलाई चुनौती दिनै सकेन । अन्य टिम नेपालको अगाडि नै प्रतिद्वन्द्वी
नै हुने खालका थिएनन् । नेपाल अन्तत: दोस्रो मात्र भयो । गत वर्ष कुवेतमा भएको एसीसी
यू–१९ प्रिमियरमा दोस्रो भएसँगै नेपालले छनोट खेल्न पाएको हो । विजेता बनी अफगानिस्तानले
विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ । मलेसियाको प्रतियोगिताको तयारीका लागि दिल्लीमा
दुई हप्ता बिताएको नेपालले ५ अभ्यास खेल खेलेको थियो र स्थानीय टिमसँग खेलेका सबै खेल
जितेको थियो । ‘भ्रमण निकै राम्रो भयो, खेलाडीले राम्रो एक्सपोजर पाए । स्थानीय टिमहरू
बलिया थिए, दिल्लीबाट खेलिसकेका धेरै खेलाडी खेलेका थिए, तर हामीले राम्रो खेलेर उनीहरूलाई
जित्यौं,’ टमाटाले भने, ‘मलेसियामा हामीले यो प्रदर्शनलाई अझ एक स्थान माथि पुर्याउनुपर्छ
।’ ‘ओपनरहरू फर्ममा आए । हरेक खेलमा उनीहरूले ४०–५० रन बनाएर राम्रो सुरुआत दिएका छन्,’
टमाटाले भारतको भ्रमणको मुख्य सफलता खोतले, ‘आरिफ शेखको आत्मविश्वास बढेको छ । पछिल्लो
३–४ म्याच उनले निकै राम्रो खेले । मलेसियामा पहिला उनी २०–२५ रनमा आउट हुन्थे । बलिङमा
हाम्रो राम्रो सुधार भयो, बलिङ राम्रै छ । राजवीर सिंह, दीपेन्द्र ऐरी, राजु रिजाल,
सन्दीप सुनार र सुनील धमलाले भारतमा राम्रो खेले ।’ राष्ट्रिय टिमबाट खेलिसकेका आरिफले
भारतमा १ अर्धशतकसहित झन्डै ५० को औसतमा १ सय ४९ रन बनाएका थिए । २०१२ को विश्वकपमा
नेपाल जर्ज डकरेलको बलिङ अगाडि आयरल्यान्डसँग पराजित भएको थियो । आयरल्यान्ड यसपटक
पनि नेपालका लागि ठूलो चुनौती हुन सक्छ । ‘कुनै पनि टिम कमजोर छैन, त्यसैले चुनौती
धेरै छन्,’ टमाटा भन्छन्, ‘सबैले टिम आ–आफ्नो क्षेत्रबाट राम्रो गरेर आएका छन् । हामीलाई
राम्रो भनेको गत महिना मलेसियामै एसीसी खेल्नु हो । खेलाडीले विकेटबारे राम्रो बुझेका
छन् ।’ नेपालबाट विश्व ११ सँगको परोपकारी खेल पनि खेलेका कप्तान राजु रिजाल दुई महिनाको
अन्तरमा तेस्रो पटक मलेसिया गएर खेल्दै छन् । आयरल्यान्डले मलेसियामै तयारी गरिरहेको
छ । मलेसियन एयरफोर्ससँगको अभ्यास खेलमा आयरल्यान्डको यू–१९ टिम ५६ रनले पराजित भएको
थियो । पपुवा न्युगिनी पनि तयारीका क्रममा सिंगापुरमा छ । नेपालले प्रतियोगितामा पहिलो
खेल मलेसियामा पपुवा न्युगिनीसँग नै खेल्दैछ । टमाटा भन्छन्, ‘भारतमा गएर खेलेपछि खेलाडीहरूले
आफ्नो जिम्मेवारी बुझेका छन् । जुन हिसाबमा हामीले तयारी गर्यौं अब त्यसअनुसार फिनिसिङ
दिनुपर्छ ।’ खबर कान्तिपुर दैनिक देखी ।
Tuesday, October 13, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...