काठमाडौँ
: विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अझै पनि एक जितका लागि तड्पिरहेको
छ। स्कटल्यान्डसँग गत जुलाईमा भएका दुई खेल र भर्खरै युएईमा भएका दुई खेलमा पपुवा न्युगिनीसँग
पराजित भएपछि नेपाल अङ्क तालिकामा सून्य अङ्कका साथ सबैभन्दा पूछारमा रहन पुगेको छ।
आखिर किन नेपालले पराजयबाट सिक्न सकेन? किन बारम्बार नेपालले पराजय मात्रै भोग्नुपरिरहेको
छ? कप्तान पारस खड्कालाई पाँच प्रश्न
१) ब्याट्सम्यानहरुले स्ट्राइक रोटेट गर्न किन सकेनन्?
नेपाल
अहिले विश्व क्रिकेट लिगको डिभिजन १ मा छ। डिभिजन ६ बाट विभिन्न चुनौति पार गर्दै नेपाल
यो स्तरमा आइपुगेको हो। तर यो स्तरमा पुगेपछि नेपालले जुन स्तरको खेल देखाउनु पर्ने
हो, त्यो देखाउन सकिरहेको छैन। क्रिकेटमा हरेक बलमा चौका र छक्का हान्न सकिँदैन। एक
ओभरमा छ बल हुन्छ। ब्याट्सम्यानहरुले स्ट्राइक रोटेट गर्दै कम्तिमा एक रन जोड्न सके
विपक्षीलाई दबाब दिन सकिन्छ। तर नेपालले अहिलेसम्म खेलेका खेलहरुमा स्ट्राइक रोटेट
गर्न सकेको देखिँदैन। नेपालको ब्याटिङ कमजोर हुनुको कारण पनि यही देखिएको छ।
२) ओपनिङ ब्याट्सम्यान किन कमजोर?
दुवै
खेलमा अनिल मण्डल पहिलो ओभरमा सून्यमा आउट भए। यसले नेपाललाई सुरुदेखि नै दबाबमा आयो।
पहिलो खेलमा त उनी गोल्डन डक आउट नै भए। दुवै खेलमा उनी भनुवाको एलबिडब्लुको शिकार
भए। दुवै खेलमा उनले 'क्रस ब्याटेड सट' खेलेका थिए। त्यसैगरी अर्का ओपनर सुवास खकुरेलमा
धैर्यताको कमी देखियो। पहिलो खेलमा ६३ रनको राम्रो इनिङ्ग्स खेल्दाखेल्दै कन्सनट्रेसन
लुज गर्दा उनी आउट हुन पुगे। दोस्रो खेलमा त मात्र दुई बलको सामना गर्दा सून्य रनमा
आउट हुन पुगे।
३) प्रेसर दिने फिल्डिङ किन गर्न सकेनन्?
ब्याट्सम्यानहरुले
कम स्कोर बनाउँदा पनि नेपालका बलरहरुले दुवै खेललाई अन्तिम ओभरसम्म लग्न सक्नु
राम्रो पक्ष थियो। दुवै खेलमा विपक्षीलाई अन्तिम ६ बलमा ६ रन आवश्यक थियो। तर यस्तो
महत्वपूर्ण अवस्थामा विपक्षीलाई दबाब दिने फिल्डिङ गर्न सक्नुको साटो आफै दबाबमा आउने
काम भयो। दुवै खेलमा फिल्डरहरुले महत्वपूर्ण क्याच छाडे। क्रिकेटमा क्याच समाते म्याच
जितिने उखान छ। तर नेपाली फिल्डिङ त्यसैमा कमजोर साबित भयो। विपक्षीले हरेक जसो ओभरमा
चौका प्रहार गर्दै नेपालीलाई दबाबमा राख्ने काम भयो।
४) आलमलाई किन सोमपालभन्दा पछाडि राखियो?
महबुब
आलम एक जमानाका 'हिटर' का रुपमा चिनिन्थे। पपुवा न्युगिनीविरुद्ध खेलिएका दुवै खेलमा
नेपालले हानेको एउटै छक्का आलमकै थियो। उनी स्ट्राइक बलर र स्ट्राइक ब्याट्सम्यान थिए।
लामो समयपछि उनी राष्ट्रिय टोलीमा अटाउन सफल भए। अभ्यास खेलमा पनि उनले राम्रै प्रदर्शन
गरेका हुन्। तर दुवै खेलमा उनलाई ब्याटिङमा सोमपाल कामीभन्दा पछाडि आठौँ नम्बरमा पठाइयो।
यदि उनी फर्ममा नरहेको भए किन टिममा छनौट गरियो? फर्ममा रहेको भए किन अगाडि ल्याइएन?
पहिलो खेलमा उनलाई बलिङ गराइएको थियो। उनले ४.२२ को इकोमोनीसहित दुई विकेट पनि लिएकै
हुन्। तर दोस्रो खेलमा किन उनलाई एक ओभर पनि बलिङ गर्न लगाइएन?
५) पारसले आक्रामक शैलि किन देखाउन सकेनन्?
दोस्रो
खेलमा नेपाली बलरहरुले १४१ रनमा पपुवा न्युगिनीका सात विकेट लिइसकेका थिए। आठौँ र नवौँ
नम्बरका ब्याट्सम्यान क्रिजमा टिकेका थिए। तर उनीहरुलाई दबाबमा राख्ने गरी आक्रामक
फिल्डिङ गराउने काम कप्तान पारसले गर्न सकेनन् जसका कारण ८३ रनको साझेदारी भएर नेपालले
लगभग जितिसकेको खेल गुमाउनु पर्यो। दुवै खेलमा सोमपाल बाहेक अर्को तीव्र गतिका बलर
किन खेलाइएन?

नेपाल विश्व लिग च्याम्पियनसिपको यो स्तरमा कसैले काँधमा बोकेर ल्याइपुर्याएको पक्कै
होइन। नेपाली खेलाडीहरुले आफ्नै बलबुतामा यो स्तर चुमेका हुन्। तर यो स्तरमा पुगेपछि
जुन खेल नेपालले देखाउनु पर्थ्यो, त्यो अझसम्म देखाउन सकेका छैनन्। चार खेल हार्दैमा
नेपालको सम्भावना सकिसकेको छैन। सात चरणमा हुने लिग च्याम्पियनसिपका खेलहरुमा नेपालले
अझै पाँच देशविरुद्ध १० खेल खेल्न बाँकी छ। तर अब विपक्षी टिम झन् बलिया छन्। नेपालका
सर्वाधिक सफल कोच पुबुदु दासानायके पनि अब हामीसँग रहने छैनन्। यस्तो अवस्थामा नामिबिया,
नेदरल्यान्ड्स, केन्या, हङकङ र युएईसँगका आगामी खेलहरुमा नेपालले सिक्नुपर्ने भर्खरै
सकिएको पपुवा न्युगिनीका ब्याट्सम्यानबाट पनि हो। जसरी उनीहरुका आठौँ र नवौँ ब्याट्सम्यानले
बिना कुनै दबाब सहज ढंगले बल सामना गर्दै आवश्यक रन जुटाउँदै विजयपथ कोरे, नेपालले
यही शैलि कायम गर्न सक्ने हो भने लिगमा हाम्रो भविष्य रहन्छ। नत्र डिभिजन दुईमा घटुवा
हुने सम्भावनालाई कसैले रोक्न सक्दैन। लिगको अङ्क तालिकामा शीर्ष चार स्थानमा रहन सफल
भएको टिम २०१८ को आइसिसी विश्वकप क्वालिफायर्समा खेल्न पाउनेछ। अङ्क तालिकाको पुछारमा
रहने दुई टिम भने डिभिजन २ मा घटुवा हुनेछ।
अंगद
ढकालले
पहिलोपोस्ट मा खबर लेख्नुभएको
छ ।
Friday, November 20, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...