ओडिआई स्टाटस दिलाउन सकिनँ, क्षमा गर्नुस्
नेपाली
क्रिकेट प्रशिक्षकका रुपमा झण्डै चार वर्ष बिताएका पुबुदु दासानायेके शनिबार नेपालबाट
विदा हुँदैछन् । नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएका दासानायके नेपाली क्रिकेट
खेलाडी र फ्यानहरुका समेत प्रिय बनेका छन् । पुबुदुको कार्यकालमा नेपाल डिभिजन ४ बाट
उक्लेर डिभिजन १ मा पुग्यो भने टि-२० विश्वकपमा समेत खेल्ने अवसर पायो । यद्यपि, नेपाललाई
एक दिवसीय वरियता दिलाउने मूल लक्ष्य पूरा गर्न भने उनी चुके । यसमा आज उनलाई खिन्नता
छ । नेपाल छाड्नुपूर्व प्रशिक्षक दासानायकेले अनलाइनखबरसित आफ्नो प्रशिक्षणकालबारे खुलेर कुराकानी गरे । आफ्नो पृष्ठभूमि
र भविष्यका योजनाहरुबारे पनि बताए । प्रस्तुत छ, दासानायकेको अनुभव उनकै शब्दमा :
क्रिकेटमा पाइला
सात
वर्षको उमेरदेखि क्रिकेट ब्याट समाएको हुँ । ९ वर्षमै स्कुलको टिमबाट अन्डर- ११ टोलीबाट
खेल्न पाएँ । श्रीलंकामा सामान्यतया १० वर्षको भएपछि मात्रै स्कुल टीममा लिइन्छ । तर,
मेरो दाइ स्कुल टीमबाट खेल्थे । उनकै प्रभावमा मैले ९ वर्षमै टिममा स्थान बनाएँ । दाइले
स्कुलको अन्डर १५ टिमसम्म खेलेर क्रिकेट छाडे । तर, मैले छाडिनँ । २२ वर्षको उमेरमा
राष्ट्रिय टीममा स्थान बनाएँ, टेस्ट र वान डेमा एकै साथ । तर, राष्ट्रिय टोलीमा मैले
आफ्नो स्थान लामो समय सुरक्षित राख्न सकिनँ । त्यो समयमा अहिलेजस्तो बाक्लै क्रिकेट
खेलिँदैनथ्यो । एउटा देशले वर्षमा ३-४ टेस्ट मात्रै खेल्ने मौका पाउँथ्यो । करिब ३
वर्ष राष्ट्रिय टोलीमा रहँदा ११ टेस्ट र १६ वान डे खेल्ने मौका पाएँ । फर्म खस्केपछि
मलाई ड्रप गरियो । म दुखित भएँ ।
स्मरणीय इनिङ
मैले
खेलेको मध्ये स्मरणीय इनिङका रुपमा भारतसितको वान डे म्याचलाई लिन्छु । कति सालमा हो
बिर्सेँ । म सात नम्बरमा ब्याटिङ गर्न उत्रिँदा जीतका लागि ८ ओभरमा ५६ रन आवश्यक थियो
। अर्को इन्डमा थिए अरभिन्द डि सिल्भा । हामीले अघिल्लो दुई ओडिआई हारेर श्रृंखला गुमाइसकेका
थियौं । आत्मसम्मानका खातिर हामीले अन्तिम म्याच जित्नुपर्ने थियो । अरभिन्द र मेरो
पार्टनरसीप अन्तिमसम्म टिक्यो । म बढीभन्दा बढी उनलाई स्ट्राइक दिइरहेको थिएँ । अन्तिम
ओभरमा हामीलाई जितका लागि १५ रन बनाउनुपर्ने भयो । ओभरको प्रारम्भमा म स्ट्राइमा थिए
। पहिलो बल मिस गरेँ । दोस्रोमा चौका हिर्काएँ । तेस्रो बलमा १ रन चोरेँ । त्यसपछिका
३ बलमा अरभिन्दले १० रन ठोके । एउटा ब्याट्सम्यानले सधैँ जीतका लागि खेल्ने हो, व्यक्तिगत
रेकर्डका लागि होइन । त्यो म्याचमा मैले यहि भावनाका साथ खेलेको थिएँ । अरभिन्द म भन्दा
सिनियर र क्रिजमा जमिसकेकाले उनलाई स्ट्राइक दिएको थिएँ ।
क्यानाडामा निराशा
सन्
२००० मा म फर्स्ट क्लास क्रिकेटबाट पनि रिटायर्ड भएँ । त्यसपछि आफूले पढेको स्कुलमै
जुनियर क्रिकेट टिमको कोचका रुपमा काम सुरु गरेँ । तर, त्यति सन्तुष्ट हुन सकिँन ।
सन् २००१ मा मैले परिवारसहित श्रीलंका छाडेर क्यानाडातिर लागेँ । चार वर्षसम्म त्यहाँ
गुमनाम भएर बसेँ । स्थानीय स्तरका क्रिकेट खेलहरुमा सहभागी हुन्थेँ । त्यसपछि म क्यानाडा
क्रिकेट बोर्डको सम्पर्कमा आएँ । मेरो पृष्ठभूमि थाहा पाएपछि बोर्डले मलाई राष्ट्रिय
टोलीबाट खेल्न आग्रह गर्यो । मैले स्वीकार गरेँ । सन् २००५ र २००६ मा मैले क्यानाडाको
राष्ट्रिय टोलीबाट खेलेँ । त्यसपछि रिटायर्ड लिएँ । सन् २००७ मा बोर्डले मलाई क्यानाडाको
बोर्डले राष्ट्रिय टोलीको कोच बन्न प्रस्ताव गर्यो । प्रशिक्षणमा पहिलेदेखि नै रुची
थियो । २००७ देखि २०११ सम्म लगातार चार वर्ष मैले क्यानाडाको कोचका रुपमा काम गरे ।
क्यानाडामा कोच गर्दा मलाई त्यति मज्जा आएन । त्यहाँ फुलटाइम क्रिकेट खेलाडी पाउनै
मुस्किल हुन्थ्यो । स्थानीय युवाहरुमा क्रिकेटप्रति आकर्षण थिएन । त्यहाँ हक्की, बेसबल,
बास्केटबललगायतका खेलहरु बढी लोकपि्रय थिए । राष्ट्रिय टोलीमा रहेका खेलाडीहरुमा समेत
क्रिकेटप्रछि उतिसारो लगाव थिएन । सिकाएको कुरा चाँडै सिक्दैनथे । सेवा-सुविधा राम्रो
भए पनि खेलाडीहरुमा क्रिकेटप्रति आवश्यक समर्पण थिएन । त्यसैले एउटा कोचका रुपमा मेरो
जाँगर मर्दै गएको थियो ।
नेपाल आगमन

सन्
२०११ मा भारतमा सम्पन्न विश्वकप क्रिकेट लगत्तै मैले नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज
पाण्डेको मेल पाएँ । उहाँले मलाई नेपाली राष्ट्रिय टोलीको कोच बन्न प्रस्ताव गर्नुभएको
थियो । विकल्प खोजिरहेको म उहाँको प्रस्तावप्रति स्वतः आकषिर्त भएँ । यद्यपि त्यतिबेला
मलाई नेपालको क्रिकेटबारे खासै थाहा थिएन । छिमेकी देश भएको नाताले नेपालको विषयमा
थोरबहुत जानकारी अवश्य थियो । तर, नेपाली टोलीको स्तर, यहाँको भौतिक, पूर्वाधारको अवस्था,
खेलाडीहरुको क्षमताबारे अनविज्ञ नै थिएँ । नेपालमा श्रीलंकाली कोच रोय लुक डायस प्रशिक्षक
हुनुहुन्छ भन्नेचाहिँ थाहा थियो । पाण्डेको मेल आएपछि मैले डायससित सम्पर्क गरेँ ।
उहाँले नेपाली क्रिकेट टोलीका विशेषताहरुबारे सुनाउनुभयो । उहाँको भनाइबाट मैले महसुस
गरेँ कि यो टोलीलाई माथि लैजान सकिन्छ । मैले यूट्यूवमा नेपाल क्रिकेटका भिडियोहरु
पाएसम्म खोज्न थालेँ । गुगल पनि सर्च गरेर जानकारी लिएँ । नेपाली टोलीले विशेष गरी
उमेर समूहमा राम्रो गरेको र विगतमा टेस्ट खेल्ने राष्ट्रहरुलाई पनि पराजित गरेको थाहा
भयो । जे होस् मैले नेपालमा प्रशिक्षण गर्ने निर्णय लिएँ । क्यानाडाको भन्दा कम सेवा-सुविधाको
प्रस्ताव भए पनि मैले सहर्ष स्वीकार गरेँ । किनभने मैले प्रशिक्षणलाई जागिरका रुपमा
मात्रै लिएको थिइनँ । सन् २०११ सेप्टेम्बर २९ मा म नेपाल आएँ । नेपाल आएपछि छोटो समयमै
मलाई थाहा भयो, यहाँ क्रिकेट अत्यन्त लोकपि्रय छ । खेलाडीहरुमा खेलप्रति अत्यधिक लगाव
र समर्पण देखेँ । खेलाडीहरु निकै प्रतिभाशाली रहेछन् । जे कुराहरुको मैले क्यानाडामा
अभाव महसुस गरेको थिएँ, त्यो यहाँ पाएँ । खाली खेलाडीहरुलाई बढीभन्दा बढि ‘एक्सपोजर’को
आवश्यकता थियो । टीम बाहिरको अवस्था भने ठीक थिएन । क्रिकेटका लागि भौतिक पूर्वाधारहरुको
अभाव, खेलाडीहरुलाई सेवा-सुविधा न्यून, नेपाल क्रिकेट संघको कमजोर व्यवस्थापना लगायतका
कुराहरुले क्रिकेटको विकासलाई प्रभावित बनाइरहेका थिए । यद्यपि, यो पाटोमा मैले खासै
केही गर्न सक्दिनथें । यी कुराहरु मेरो जिम्मेवारी र औकातभन्दा बाहिरका थिए । क्रिकेटप्रति
फ्यानहरुको लगाव यहाँको अर्को सकारात्मक पाटो देखेँ मैले । यो अत्यन्त महत्वपूर्ण कुरा
हो । एउटा खचाखच रंगशालामा क्रिकेट खेल्नु र खाली रंगशालामा क्रिकेट खेल्नुमा धेरै
फरक पर्छ । खेलाडीको मानसिकतामा समेत यसले प्रभाव पार्छ । छिमेकी देशहरुको प्रभावले
गर्दा नेपाली फ्यानहरु क्रिकेटप्रति पहिलेदेखि नै नतमस्तक रहेछन् । मेरो करार ६ महिनाका
लागि मात्रै थियो । त्यतिबेला मेरो तत्कालीन जिम्मेवारी भनेको टोलीलाई एसीसी टी-२०
प्रतियोगितामा प्रवेश गराउनु थियो । हामी त्यसबाट पार भएर ग्लोवल क्वालिफाइङमा पुग्यौं
। त्यसपछि क्यानले मलाई एक वर्ष करार थप गर्यो ।
‘हाइ प्वाइन्ट र लो प्वाइन्ट’
नेपाल
आएर राष्ट्रिय टोलीलाई हेरिसकेपछि मैले के ठानेको थिएँ भने यो टोली डिभिजन ४ होइन,
डिभिजन १ को हकदार छ र अहिलेकै अवस्थामा पनि विश्वकप खेल्न सक्षम छ । मलाई लाग्यो कि
बाहिरी वातावरण ठीक भयो भने यो टोलीलाई एक दिवसीय वरियता दिलाउन सक्छु । तर, म यो लक्ष्यमा
असफल भएँ । न्यूजिल्याण्डमा भएको प्रतियोगितामा खराब प्रदर्शन गरेपछि नेपालले ओडीआई
स्टाटस पाउने अभूतपूर्व अवसर गुमायो । यद्यपि उक्त प्रतियोगितामा नेपालको प्रदर्शन
राम्रो नहुनुमा विभिन्न कारण थिए । प्रतियोगितामा हामीले आफ्नो ‘बेस्ट टिम’ उतार्न
सकेनौं । कप्तान पारसलगायत महत्वपूर्ण खेलाडीहरु फिट थिएनन् । त्यहाँको पीच पनि हामीलाई
अनुकुल हुनेखालको थिएन । उक्त पराजयले हाम्रो क्रिकेटलाई कम्तिमा चार वर्ष पछाडि धकेलेको
छ । आफ्नो प्रशिक्षण कालको सबैभन्दा निराशाजनक क्षणका रुपमा म यसलाई लिन्छु । सबैभन्दा
उत्साहजनक क्षणको कुरा गर्दा विश्व टि-२० मा नेपालको सहभागितालाई नै लिन्छु । त्यो
एउटा बिन्दु थियो, जहाँ विश्व क्रिकेटका ध्यान नेपालतर्फ आकषिर्त भयो । हामी विश्वस्तरीय
क्रिकेटका लागि योग्य छौं भन्ने कुरा खेलाडीहरुले प्रमाणित गरे । सबैले नेपालको क्रिकेट
टोलीको प्रशंसा गरे । यसले खेलाडीहरुको आत्मविश्वालाई पनि नयाँ उचाइमा पुर्यायो भने
नेपालका क्रिकेट फ्यानहरुलाई पनि आफ्नो क्रिकेटप्रति गौरव गर्ने अवसर दियो ।
पाकिस्तानसितको भिडन्त
केही
दिन अगाडि मात्रै हाम्रो क्रिकेट टोलीले हाल टेस्ट वरियतामा दोस्रो नम्बरमा रहेको शक्तिशाली
पाकिस्तानको राष्ट्रिय टोलीसित भिड्ने मौका पायो । उक्त म्याच अफिसियल थिएन । तर, हाम्रा
लागि धेरै महत्वपूर्ण थियो । किनभने नेपाली टिमले इतिहासमा पहिलोचोटि यति शक्तिशाली
टीमविरुद्ध भिड्ने अवसर पाएको थियो । मोहम्मद
इरफान, यासिर साह, वाहव रियाज जस्ता विश्वस्तरीय बलरहरु सामु नेपाली ब्याट्सम्यानहरु
सहजै घुँडा टेक्छन् कि भन्ने आशंका धेरैको थियो । तर, हाम्रा ब्याट्सम्यानहरुले ५०
ओभरसम्म लडेर देखाए । यस म्याचबाट पनि के पुष्टि भएको छ भन्दा हामी अलिकति मिहनेत गरेको
खण्डमा शक्ति राष्ट्रहरुको समुहमा आउन सक्छौं । यसका लागि ५ देखि १० वर्षको योजना बनाएर
अघि बढ्नुपर्छ ।
अघिल्लो वहिर्गमन
त्यसो
त म यस अगाडि नै म लगभग नेपाल नफर्किने मनस्थितिमा क्यानाडातिर लागेको थिएँ । त्यतिबेला
क्यानले मेरो करार नविकरण नगरीकन ३ महिनाका लागि थमौती मात्र गरेको थियो । उक्त अवधि
सकिए पछि पनि करार नवीकरण गर्ने संकेत नआएपछि म क्यानाडा लागेको थिएँ । त्यतिबेला मैले
धेरै पैसाको माग गरेकाले करार नवीकरण नभएको भनेर प्रचार गरियो । त्यसले मलाई दुखित
बनायो । मैले नेपालमा प्रशिक्षण गर्दा कहिल्यै पैसालाई इस्यू बनाइँन । क्यानडाले नेपालभन्दा
दोब्बर तलबको अफर गरेर बोलाएको थियो, तर गइँन । मैले क्यानसित यति दिनुस, र उति दिनुस
भनेर डिमाण्ड कहिल्यै गरेको छैन । उहाँहरुले निर्णय गरेर जे-जति दिनुभयो त्यसलाई स्वीकार
गरेको हुँ । पछि सरकारकै तहबाट हस्तक्षेप गरेर मेरो करार नवीकरण गरिएपछि फेरि नेपाल
फर्किने वातावरण बनेको हो ।
नेपाली टोलीका बारेमा
नेपाली
टोली अहिले एसोसिएट्स समूहको अग्रणी टोलीमा नै पर्छ । हामीभन्दा माथिल्लो श्रेणीमा
टेस्ट तथा एक दिवसीय वरियताका टोलीहरु छन् । यसबाहेक अफगानिस्तान, आयरल्याण्ड लगायतका
केही टोलीहरु हामीभन्दा अलिकति बलिया देखिन्छन् । यद्यपि, सीप र कौशलको हिसाबले हामी
उनीहरुभन्दा कमजोर होइनौं । केवल अनुभवमा मात्रै पछाडि हौं । नेपालमा स्तरीय ब्याट्सम्यान
र बलर छन् । फिल्डिङ पनि चुस्त छ । मैले बारम्बार यही भन्छु कि यो टीमलाई जति एक्सपोजर
दियो, त्यति राम्रो हुन्छ । क्वालिटी टीमहरुविरुद्ध खेल्ने अवसर मिलाउनुपर्छ । यसका
लागि भारत, पाकिस्तान, श्रीलंका जस्ता छिमेकी देशको घरेलु क्रिकेटमा नेपाली खेलाडीले
प्रवेश पाउने व्यवस्था मिलाउनुपर्छ । मैले आफ्नो देश श्रीलंकाको घरेलु क्रिकेटमा केही
खेलाडीलाई खेल्ने व्यवस्था मिलाएको छु । यद्यपि यो पर्याप्त छैन । नेपालको ब्याटिङमा
स्तरीय भएर पनि अलिकति पछाडि छ । यसको कारण भनेको नियमित प्रतिस्पर्धाको कमि हो । हामी
दुई-तीन महिनामा एउटा प्रतियोगिता खेल्छौं । त्यो बीचमा खेलाडीहरु फुर्सदमा हुन्छन्
। घरेलु प्रतियोगिताहरु शून्य प्रायः छन् । त्यसैले ब्याट्सम्यानहरु आफ्नो लयबाट विचलित
हुन्छन् । खेलाडीहरुलाई व्यस्त राख्न घरेलु प्रतियोगिता अपरिहार्य छ । तर, क्यानले
यसमा खासै ध्यान पुर्याउन सकेको छैन । अब नेपालको अर्को प्रतियोगिता फेब्रुअरीमा नामिबियासित
छ । त्यो बीचमा केही पनि छैन ।
पारसको नेतृत्व
नेपाली
क्रिकेटलाई यहाँसम्म ल्याउन कप्तान पारस खड्काको सबैभन्दा ठूलो भूमिका छ । हरेक कोचको
सपना हुन्छ, पारसजस्तो कप्तान पाउनु । यस अर्थमा म भाग्यशाली थिएँ । उनी क्याप्टेका
रुपमा जति नेतृत्वदायी छन्, एज अ प्लेयर पनि उत्तिकै पूर्ण छन् । ब्याटिङ, बलिङ र फिल्डिङ
तीनवटै फिल्डमा उनले टोलीलाई प्रेरणा दिन सक्छन् ।
मेरो
विचारमा पारस एसोसिएट्स राष्ट्रहरुमध्येकै उत्कृष्ट कप्तान हुन् । यो मैले मात्र नभएर
आइसीसीका अफिसियल र कोचहरुले पनि विश्लेषण गरेको कुरा हो । अझै धेरै वर्षसम्म नेपाली
टोलीलाई पारसको नेतृत्व खाँचो छ । उनीसित धेरै क्रिकेट पनि बाँकी छ । अहिलेसम्म कुनै
खेलाडीमा पारसको जस्तो नेतृत्व क्षमता मैले देखेको छैन ।
यद्यपि
भविष्यको कुरा गर्दा मैले पृथु बास्कोटामा केही सम्भावना देखेको छु । उनमा कप्तानमा
हुनुपर्ने गुणहरु छन् । आफ्नो खेलमा भने धेरै निखार ल्याउन बाँकी छ उनले । भविष्यका
खेलाडीको कुरा गर्दा म सागर पुनको नाम लिन रुचाउँछु । उनी केही समयदेखि राष्ट्रिय टोलीमा
छन् । तर, आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सकेका छैनन् । मेरो नजरमा उनी धेरै नै
सम्भाव्यता भएका ब्याट्सम्यान हुन्, जसले भविष्यमा पारस, ज्ञानेन्द्र र सरदको स्थान
कब्जा गर्न सक्छन् । मैले उनलाई पछिल्लो म्याचहरुमा तेस्रो नम्बरमा खेलाउनुको अर्थ
पनि भविश्यका लागि तयार पार्नलाई हो । पछिल्ला केही म्याचमा उनले आफू विस्तारै लयमा
आइरहेको संकेत देखाएका छन् । भविष्यका कोचले उनलाई कसरी उपयोग गर्छन् भन्ने कुरा महत्वपूर्ण
छ । नेपाली टोलीमा पारस, ज्ञानेन्द्र र शरदको ब्याटिङ धेरै महत्वपूर्ण छ । उनीहरु जत्तिकै
प्रतिभा भएका अरु ब्याट्सम्यानरु पनि छन् । तर, बढी अनुभवी भएकाले उनीहरुको प्रदर्शन
धेरै अप-डाउन हुँदैन । नेपालको मुख्य हतियार भनेको स्पिन बलिङ हो । बसन्त रेग्मी र
शक्ति गौचनको स्पिन जोडी एसोसिएट्स राष्ट्रकै उत्कृष्ट मानिन्छ । फास्ट बलिङतर्फ अनुभवको
अलिकति कमि छ । यो क्रिकेट टीमका सबै सदस्यहरु व्यक्तिगतरुपमा मसित उत्तिकै नजिक छन्
। फिल्डमा म अनुशासन रुचाउँछु । फिल्डभन्दा बाहिर मेरा साथी जस्तै हुन् । कप्तान र
कोचबीच एक किसिमको ग्याप हुन्छ र हुनु पनि पर्छ । त्यसलाई म ध्यान दिन्छु । मैले सबै
खेलाडीहरुसित अनौपचारिक रुपमा विदा मागिसकेको छु । आवुधावीमै रहँदा मैले टीम मिटिङमा
आफ्नो राजीनामाको विषयमा जानकारी गराएको थिएँ । फर्किनुअघि सबैसित एकपटक भेट्ने इच्छा
छ । तर, धेरै खेलाडीहरु काठमाडौंबाहिर आ-आफ्नो घरमा गएका छन् । काठमाडौंमा रहेका खेलाडीहरुसित
भेट्ने नै छु ।
पछिल्ला हारहरु
अहिले
हामी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा भिडिरहेका छौं । यो कठिन प्रतिस्पर्धा हो ।
पछिल्लो प्रतियोगीतामा हामी पपुवा न्यूगिनीसँग पराजीत भयौं । मेरो प्रशिक्षणकालको अन्तिम
प्रतियोगिता भएकाले पनि यो पराजय मेरा लागि दुखद बनेको छ । यदि जितेको भए मेरो बहिर्गमन
केही हदसम्म सुखद हुन सक्थ्यो होला । पपुवा
न्युगिनीसित हाम्रा खेलाडीहरुले १०० प्रतिशत प्रयास गरेका हुन् । हामी दुबै म्याचमा
जीतको नजिक पुगेर हार्यौं । क्रिकेटमा यस्तो हुन्छ । यस्तो क्रिकेटमै हुन्छ । पहिलो
म्याचमा उनीहरुले २०-२५ रन फिल्डिङबाट रोके, जुन अन्त्यमा निर्णायक बन्यो । त्यसमा
हामीले केही मौकाहरु पनि गुमायौं । दोस्रो म्याचमा पनि हामीले जितको नजिक पुगेर गुमायौं
। समग्रमा पीएनजीले हाम्रोभन्दा राम्रो खेल्यो भन्नुपर्छ । क्रिकेटमा आफ्नो कमजोरीका
समीक्षाका साथै प्रतिद्वन्द्वी टीमलाई जस दिन हिच्किचाउनुहुँदैन । पीएनजी हाम्रै स्तरको
तर अत्यन्त अनुशासित टीम हो ।
नयाँ कोचबारे
म
बिदा भएपछि नेपालले अर्को कोच कस्तो छनोट गर्छ भन्ने कुरा महत्वपूर्ण छ । क्रिकेटको
कुनै एक फिल्डमा मात्रै दक्षता भएको कोचले हुन्न । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा
टोलीलाई मार्गदर्शन गर्ने कोच होस् । त्योभन्दा पनि महत्वपूर्ण कुरा, नेपाली क्रिकेटलाई
केही हदसम्म बुझेको र यहाँको वातावरणका विषयमा थाहा पाएको व्यक्ति भए राम्रो हुन्छ
। अरु मेरो सिफारिस छैन । नयाँ आउने कोचलाई सुझाव दिनुपर्दा म के भन्छु भने यो एउटा
उत्कृष्ट टीम हो । तर, यसले आफ्नो उत्कृष्टतालाई विश्वसामु देखाउन बाँकी नै छ । खेलाडीहरुसित
चाँडै घुलमिल भएर उनीहरुको सवल र दुर्बल पक्ष पहिले पत्ता लगाउनुस् । उनीहरुलाई बाउन्सी
पीचमा फास्ट बलिङसँग जुझ्ने र ठूला सटहरु कसरी खेल्न पारंगत बनाउनुस ।
फ्यानहरुका नाममा
म
नेपाली क्रिकेट फ्यानहरुप्रति कृतज्ञ छु । उहाँहरुले सधैं आफ्नो क्रिकेट टोलीलाई प्रोत्साहित
गर्नुभयो । खराब समयमा पनि साथ दिनुभयो । मैले आफ्नो प्रशिक्षण कालमा नेपाललाई ओडिआई
स्ट्याटसमा पुर्याउन सकिँन, जसका लागि फ्यानहरु ठूलो पखाईमा थिए । त्यसका लागि क्षमाप्रार्थि
छु । म अझै पनि भन्छु, तपाईंहरुको टोली ओडिआई स्टाटसमा पुग्ने छ । एक दिवसीय विश्वकप
खेल्ने छ । त्यसका लागि अलिकति धैर्य गर्नुपर्छ । अलिकति तपाईंहरुले दबाव पनि सिर्जना
गर्नुपर्छ, राम्रो व्यवस्थापनाका लागि । पछिल्ला केही म्याचहरुमा भएका हारका लागि पनि
दुखी छु । फ्यानहरु सँधै जीत हेर्न चाहनुहुन्छ । तर, हार-जीत कुनै पनि खेलका दुई अवश्यम्भावी
पाटा हुन् । यो टीमलाई मैले जति सक्थेँ योगदान दिएँ । अहिले मलाई के लाग्यो भने बाहिरको
सिस्टम राम्रो नभएसम्म अब अगाडि बढ्न गाह्रो छ । तर, म यो सिस्टम परिवर्तन गर्न सक्ने
हैसियतमा छैन । त्यसैले मैले आफ्नो प्रशिक्षणकाल टुंग्याउने निर्णय लिएको हुँ । यदि
सिस्टम राम्रो हुन्थ्यो भने अझै केही समय योगदान दिन इच्छुक हुन्थेँ होला ।
नेपालमा बस्दा
नेपाल
मलाई सुन्दर लाग्छ । नेपालका पहाडहरु मलाई मन पर्छन् । कीर्तिपूर एरिया पछाडि पनि बिहानै
सफा आकाशमा पहाडहरु देखिन्छन् । मलाई त्यो रमाइलो लाग्छ । नेपालमा सबैभन्दा मनपर्ने
ठाउँ पोखरा हो । यद्यपि धेरै ठाउँ घुम्न पाएको छैन । काठमाडौंमा अलिकति प्रदुषण छ ।
यो एशियाका धेरै शहरहरुको समस्या हो । नेपालमा
बस्दा मैले थोरबहुत नेपाली सिकेँ । एक सयभन्दा बढी नेपाली शब्दहरु बुझ्छु । जस्तै,
खाना, पानी, अगाडि, पछाडि, अध्यक्ष, टाढा नजिक आदि । वाक्य मिलाएर चाहिँ भन्न सक्दिँन
। खेलाडीहरुले मसित नेपालीमा कुरा गर्दैनन् । अंग्रेजीमै बोल्छन् । धेरै खेलाडीहरु
अंग्रेजी राम्रो बोल्छन् । कसैले टुटेफुटेको बोल्छन् । खेलाडीको अंग्रेजी पर्फेक्ट
हुनुपर्दैन, खेल पर्फेक्ट भए पुग्छ । यद्यपि उनीहरुको अंग्रेजी राम्रो भयो भने प्लस
प्वाइन्ट हुन्छ । किनकि धेरै देशहरुमा गएर खेल्दा मिडियासित राम्रोसित कुरा गर्न सक्छन्
। त्यसैले उनीहरुलाई म अंग्रेजीमै कुरा गर्न उत्प्रेरित गर्छु । त्यसो त मेरै अंग्रेजी
पनि कहाँ उत्कृष्ट छ र ?
नेपालमा
बस्दा मैले गत वैशाखमा गएको महाभूकम्पको सामना गरेँ । पहिलो भूकम्प जाँदा म नेपालमा
थिइँन । क्यानाडामा थिएँ । १० दिनपछि फर्किएँ । क्वालिफाइङ नजिक आइरहेकाले ट्रेनिङ
सुचारु गर्नुपर्ने थियो । तर, २९ वैशाखमा दोस्रो ठूलो भूकम्प गएपछि सबै क्रिकेट ठप्प
भयो । दोस्रो ठूलो भूकम्प जाँदा म गाडीमा थिएँ । मेरो ड्राइभरले हतार-हतार गाडीलाई
खुला ठाउँमा लगेर रोक्यो । मैले ठूला घरहरु लर्लरी हल्लिइरहेको प्रत्यक्ष देखेँ । उक्त
भूकम्पपछि सारा शहरवासीहरु सडकमा आए । राति सडकमै सुते । मचाहिँ होटलमै बसेँ । रातमा
निदाउन सकिन राम्ररी । भूकम्प जाँदा बाहिर निस्कने र फेरि भित्र पस्ने गरिरहेँ। अहिले
नेपालीहरु अर्को विपत्तिमा छन्, नाकाबन्दीको । सडकमा इन्धनका लागि पर्खिएका सवारी साधनको
लामो लाम देखिरहेको छु । म व्यक्तिगतरुपमा नाकाबन्दीबाट धेरै प्रभावित छैन । तर, खेलाडीहरु
प्रभावित बनेका छन् । तालिम प्रभावित बनेको छ । चाँडैभन्दा चाँडै नेपालको यो संकट समाधान
होस भन्ने कामना गर्छु ।
भविश्यका योजना
क्यानाडा
गएर परिवार ज्वाइन्ट गर्ने कुराले उत्साहित छु । मेरी श्रीमतीको त्यहाँ जागिर छ, र
दुई छोराहरु स्कुल पढ्दैछन् । क्यानाडामा मेरो जुनियर क्रिकेट एकेडेमी छ । त्यसलाई
अहिले सहायक कोचहरुले चलाइरहेका छन् । म त्यसमा समय बिताउँछु । यद्यपि ३-४ महिना भने
पूरा फुर्सदमा बस्ने विचारमा छु । गार्डेनिङमा आफूलाई व्यस्त राख्नेछु । अहिले मलाई
केही प्रस्तावहरु आएका छन् । तर, अहिले कुनै निर्णय लिन्न । मेरा छोराहरु क्रिकेट खेल्दैनन्
। १४ वर्षको जेठो छोरो ब्याडमिन्टन खेलाडी हो । उसले प्रान्तीय टीममा समेत खेलेको छ
। १० वर्षको कान्छो छोरोलाई म गएर क्रिकेट सिकाउने छु । यद्यपि भविष्यमा उ क्रिकेट
खेलाडि बन्छ कि बन्दैन त्यो मेरो हातमा छैन । उसको रुचीको कुरा हो । मलाई थाहा छैन,
भविश्यमा फेरि नेपाली टोलीसित जोडिन्छु वा नाई । यो सम्भावनालाई अहिले म पूर्णरुपमा
नकार्न चाहन्न । भविष्यमा यहाँको सिस्टम राम्रो भयो र मलाई अफर आयो ऊ भने सोच्ने नै
छु । नेपाल नरहँदा पनि नेपाली क्रिकेटलाई निरन्तर पछ्याइरहनेछु । नेपाली टोलीको सफलताका
लागि कामना गरिरहनेछु । प्यारा नेपाली खेलाडीहरु सँधै मेरो हृदयमा रहनेछन् । चिरञ्जीवी
पौडेलले अनलाइनखबर मा खबर लेख्नुभएको छ ।
Friday, November 27, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...