
नेपालले
एसीसी यू–१९ प्रिमियर लिग क्रिकेटमा आफ्नो पहिलो खेलमा शुक्रबार यूएईको सामना गर्दैछ।
खेल मलेसियाको क्वालालम्पुरस्थित बायमास ओभल मैदानमा हुनेछ। नेपालले एक दिनलगत्तै अर्को
खेलमा बलियो अफगानिस्तानको सामना गर्नेछ। त्यसैले त्यस अगाडि नेपाली टिमका प्रशिक्षक
जगत टमाटासामु आफ्नो टिमको लय फर्काउने अवसर हुनेछ। नेपाल अफगानिस्तानको सामना गर्न
अगाडि यूएईमाथि जित निकाल्न प्रयासरत रहनेछ र यसका लागि टिमले कडा मिहिनेत पनि गर्नुपर्नेछ।
प्रतियोगितामा सहभागी पाँच टिममध्ये नेपाल र अफगानिस्तानपछि बलियो तेस्रो टिम यूएई
नै मानिएको छ। प्रतियोगिता खेल्ने अरू दुई टिम आयोजक मलेसिया र साउदी अरेबियालाई भने
कमजोर आँक्न मिल्ने आधार रहेका छन्। त्यसैले नेपालसामु यूएई मात्र होइन, मलेसियामाथि
पनि राम्रो नतिजा निकाल्ने दबाब हुनेछ। ‘हामीले यस प्रतियोगिताका लागि भने कडा मिहिनेत
गरेका छौं। यूएई बलियो प्रतिद्वन्द्वी हुनेमा कुनै शंका छैन। तर यसको अर्थ नेपाल कमजोर
छ भन्ने पनि होइन,’ टमाटाले मलेसिया जान अगाडि भनेका थिए। नेपालले कुवेतमा भएको प्रतियोगिताको
पछिल्लो संस्करणमा यूएईलाई ९४ रनले हराएको थियो। त्यस टिमका दस खेलाडी अहिले पनि छन्।
त्यस खेलमा प्राप्त ठूलो अन्तरको जितले यसपल्टको प्रतिस्पर्धामा पनि मानसिक रूपमा नेपाली
खेलाडीलाई फाइदा पुग्ने अनुमान गर्न सकिन्छ। सबै टिमले अरू टिमसँग राउन्ड रोबिनका आधारमा
खेल्नेछन्। अहिलेको प्रतियोगिताका लागि नेपाली युवा टिम डेढ महिनादेखि प्रशिक्षणमा
छ। तर वर्षाले गर्दा पछिल्लो दुई साता भने तयारी राम्रो हुन सकेको थिएन। नेपाली टिमका
लागि भने यो प्रतियोगिता युवा विश्वकपको तयारीका रूपमा रहेको छ। अहिलेको प्रतियोगिताको
शीर्ष तीनमा रहने टिमले आउने यू–१९ एसिया कपमा खेल्न पाउनेछन्। नेपालले अहिलेसम्म दुईपल्ट
युवा विश्वकप खेलेको छ। त्यसमध्ये एकपल्ट नेपाल टमाटाकै नेतृत्वमा विश्वकपमा छनोट भएको
थियो। विश्वकप छनोट भने मलेसियामै अक्टोबर १४ देखि २३ सम्म हुनेछ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...