
नेपाल क्रिकेट संघ क्यानले १९ वर्षमुनिको आइसिसी वर्ल्ड कप छनौट
प्रतियोगिताका लागि १८ सदस्यीय प्रारम्भीक टोलीको घोषणा भएको छ । टोलीको कप्तान
राजु रिजाल छन् भने उपकप्तानमा आरिफ शेख छन् । आउँदो असोज २७ देखि कात्तिक ६
गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि कप्तान रिजलासँगै उपकप्तान आरिफ शेख, दिपेन्द्र
ऐरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ
र सुशील कँडेल छनौट भएका छन् । यस्तै प्रेम तामाङ, राजवीर सिंह, आशिष धामी, ललितनारायण
राजवंशी, सन्दिप लामिछाने, कुशल भुर्तेल, कमल ऐरी र हिमांशु दत्त पनि छनौटमा परेका
छन् । टोलीमा नयाँ अनुहारका रुपमा सन्दीप लामिछाने आएका छन् । छनौट प्रतियोगिता यसअघि
नेपालमा हुने तय भएको थियो । तर वैशाख १२ मा गएको भूकम्पले गर्दा भौतिक संरचनामा क्षति
पुगेको भन्दै अन्तर्राष्ट्रि क्रिकेट परिषदले प्रतियोगिताको स्थान परिवर्तन गरेर मलेसियामा
गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा नेपालसहित अमेरिका, आयरल्याण्ड, युगान्डा,
र पपुवा न्यु गिनी सहभागी हुनेछन् । यो प्रतियोगिताको विजेता टिमले आउँदो वर्ष बंगलादेशमा
हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ । विश्वकपमा आइसिसीका दश पूर्ण सदस्य राष्ट्र
अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका,
श्रीलंका, वेष्ट इन्डिज र जिम्बाबे सहभागी हुनेछन् । यस्तै प्रतियोगितामा सहभागिताका
लागि अफगानिस्तान, नामिबिया, क्यानडा, फिजी र स्कटल्याण्डले स्थान पक्का गरि सकेका
छन् । अब मलेसियामा हुने छनौट प्रतियोगितामा विजेता बन्ने टोलीले प्रतियोगिताका लागि
स्थान बनाउने छ ।
Saturday, September 12, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...